काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले बन्द कोठामा छलफल गरेर अर्थतन्त्रको सुधार नहुने बताएका छन् । उनले अर्थतन्त्रको सुधारको लागी सरकारवालाहरुसंग सार्वजनिक रुपमा व्यापक छलफल गर्न आवश्यक रहेको बताए । नेपालमा औद्योगिकीकरणको गति कसरी तीव्र बनाउने भन्ने विषयमा सरकार, निजी क्षेत्र र सम्बन्धित सरोकारवालाबीच गम्भीर अध्ययन र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
जलविद्युत्लगायत उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारका लागि लगानीमैत्री वातावरण निर्माण गर्न पनि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उनले बताए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्रको सुधारको लागि सरकारवालाहरुसँगको छलफल आवश्यक रहेको भन्दै बन्द कोठामा कुरा गरेर अर्थतन्त्रको सुधार नहुने टिप्पणी गरे ।
यस्तै उनले रसुवा बाढीपीडित उद्योगी–व्यवसायीलाई विशेष सुविधा उपलब्ध गराउन पनि सरकारसंग माग गरे । राज्यलाई कर तिर्दै आएका उद्योगी–व्यवसायी विपदमा पर्दा उनीहरूको सामाजिक तथा आर्थिक सुरक्षाका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले विपद्मा परेका व्यवसायीलाई तत्काल राहत, पुनःस्थापना र पुनरुत्थानका लागि विशेष सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए । बाढीपीडित उद्योगी–व्यवसायीका लागि आवास कर्जा, बीमा सुविधा, पुनर्कर्जा तथा सहुलियतपूर्ण वित्तीय सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
अध्यक्ष श्रेष्ठले मुलुक रोजगारी र उपभोगका लागि क्रमशः विदेशी उत्पादनमा बढी निर्भर हुँदै जाँदा यसले नेपालको अर्थतन्त्रलाई थप परनिर्भर बनाउने जोखिम बढेको बताए । आयात भइरहेका वस्तुमध्ये ठूलो हिस्सा नेपालमै उत्पादन गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ । त्यसको अध्ययन गरी स्वदेशी उत्पादन वृद्धि र आयात प्रतिस्थापनका लागि ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले बताए । ‘नेपालमा आयात भइरहेका करिब ७० प्रतिशत वस्तु स्वदेशमै उत्पादन गर्न सकिने सम्भावनाबारे अध्ययन गरी उत्पादन बढाउनेतर्फ ध्यान दिनुपर्छ’, उनले भने । सरकारले आगामी पाँच वर्षमा अर्थतन्त्रको आकार विस्तारसँगै रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढाएका लक्ष्य हासिल गर्न निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए ।