काठमाडौं, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपाली उद्योग तथा व्यवसायले थप प्रतिस्पर्धाको सामना गर्नुपर्ने बताएका छन् । त्यसका लागि निजी क्षेत्रले अहिलेबाटै तयारी थाल्नुपर्ने उनको भनाइ छ ।
विकासशील मुलुकमा स्तरोन्नति हुनु नेपालको आर्थिक तथा सामाजिक प्रगतिको महत्वपूर्ण उपलब्धि भए पनि स्तरोन्नतिपछि नेपाली उद्यम तथा व्यवसायले पाइरहेका केही सुविधा र सहुलियतमा भने परिवर्तन आउने उनको भनाइ छ । निजी क्षेत्रले प्रतिस्पर्धात्मक क्षमता बढाउनु लाग्नुपर्नेमा उनले जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना एवं मझौला उद्यम सुदृढीकरण’ परियोजनाअन्तर्गत विराटनगरमा आयोजित गोष्ठीमा अध्यक्ष राउतले स्तरोन्नतिसँगै नयाँ बजार र लगानीका अवसर सिर्जना हुने भए पनि नेपाली व्यवसायले थप चुनौती सामना गर्नुपर्ने बताए । उनले भने, ‘स्तरोन्नतिपछि अवसर मात्र आउँदैनन्, चुनौती पनि थपिन्छन् । त्यसैले नेपाली उद्यमीले सम्भावित प्रभावको अध्ययन गरी उत्पादन, बजार, लगानी र प्रतिस्पर्धाका क्षेत्रमा अहिलेबाटै आफ्नो क्षमता बढाउनुपर्छ ।’
विशेषगरी महिला उद्यमीले सञ्चालन गरेका साना तथा मझौला उद्यमलाई स्तरोन्नतिपछि पर्न सक्ने प्रभावबारे सचेत गराउने उद्देश्यले गोष्ठी आयोजना गरिएको राउतले जानकारी दिए । महिला उद्यमीका लागि वित्तीय पहुँच, बजार विस्तार, उत्पादन क्षमता र प्रतिस्पर्धी क्षमता अभिवृद्धि आवश्यक रहेको उनले बताए । गोष्ठीमा उद्योग वाणिज्य महासंघ तथा जीआईजेडका टिम लिडर रोशन नेपालले अल्पविकसित मुलुकबाट स्तरोन्नतिपछि नेपालका उद्योग तथा व्यवसायमा पर्न सक्ने प्रभावसम्बन्धी अध्ययन प्रस्तुत गरेका थिए । परामर्शदाता भोजराज पौडेलले नेपालको स्तरोन्नतिको प्रक्रिया, संयुक्त राष्ट्रसंघमा अघि बढाइएको एजेन्डा, सम्भावित प्रभाव तथा निजी क्षेत्रको भूमिकाबारे जानकारी गराएका थिए । कार्यक्रममा कोशी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघ तथा व्यावसायिक संस्थामा आबद्ध उद्यमीको सहभागिता रहेको थियो ।
छलफलका क्रममा महिला उद्यमीले स्तरोन्नतिपछि आफूहरूले सामना गर्नुपर्ने व्यावहारिक चुनौतीबारे जिज्ञासा राखेका थिए । लेटाङ उद्योग वाणिज्य संघकी कुमारी थापा गुरुङले आफूले सञ्चालन गरिरहेको ब्याग उद्योगमा लगानी र बजारीकरणको समस्या रहेको बताइन् । मोरङ उद्योग व्यापार संघकी श्रुति शर्माले महिला उद्यमीले सञ्चालन गरेका उद्यममा वित्तीय पहुँच सहज बनाउनुपर्नेमा जोड दिइन् । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले नेपाली उद्यमीले आफ्ना उत्पादनको प्रवद्र्धन गरिरहेको भए पनि भारतसँगको खुला सीमाका कारण विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न समस्या भइरहेको बताए ।