काठमाडौं, बाजेको सेकुवा लिमिटेडले पुँजी बजारमा प्रवेश गर्ने योजनाअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारी अघि बढाएको छ । सर्वसाधारणका लागि सेयर निष्कासन गर्नको लागी कम्पनीले आवश्यक प्रक्रिया सुरु गरिसकेको जनाएको छ । नियामकीय निकायबाट स्वीकृति पूरा भएपछि आईपीओ जारी गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीलाई केयर रेटिङ नेपालले हालै केयर–एनपी बीबीबी (आईएस) इस्युअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा र मध्यम कर्जा जोखिम जनाउँछ । केयरले कम गियरिङ, पर्याप्त ऋण भुक्तानी क्षमता र छोटो सञ्चालन चक्रलाई पनि रेटिङका सकारात्मक पक्षका रूपमा उल्लेख गरेको छ ।
बाजेको सेकुवाले हाल २६ वटा आउटलेट सञ्चालन गरिरहेको छ, जसमध्ये २० वटा फ्रेन्चाइज र ६ वटा कम्पनी स्वामित्वका आउटलेट हुन् । कम्पनीको समग्र विस्तारमा फ्रेन्चाइज मोडलको प्रमुख हिस्सा रहेको छ भने अन्तर्राष्ट्रिय विस्तारका लागि कम्पनीले पूर्ण रूपमा फ्रेन्चाइज मोडल नै अपनाएको छ । हाल विदेशमा सञ्चालनमा रहेका सबै ६ वटा आउटलेट फ्रेन्चाइजमार्फत सञ्चालन भइरहेका छन् । फ्रेन्चाइज–आधारित विस्तारले तुलनात्मक रूपमा कम पूँजीमा व्यवसाय विस्तार गर्न तथा नियमित रोयल्टी आम्दानी बढाउन सहयोग गरेको केयरको विश्लेषण छ ।