काठमाडौं, रसुवा बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगको लागि २५ किलोमिटर लामो बृहत् साइक्लिङ र्याली हुने भएको छ । आगामी संविधान दिवसको पावन अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिकासँगको सहकार्यमा काठमाडौं शिक्षालयले र्याली आयोजना गर्न लागेको हो ।
प्राकृतिक विपद्का कारण घरबारविहीन र कष्टकर जीवन बिताउन बाध्य बाढीपीडित परिवारहरूलाई तत्काल राहत सामग्री र आर्थिक सहयोग उपलब्ध गराउनु यस र्यालीको मूल ध्येय रहेको छ । विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाश राज पाण्डेका अनुसार राष्ट्रिय पर्व संविधान दिवसलाई केवल औपचारिक समारोहमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग प्रत्यक्ष जोड्नका लागि यो रचनात्मक कदम चालिएको हो । कार्यक्रममार्फत संकलन गरिने सम्पूर्ण राहत रकम तथा सहयोग सामग्री पारदर्शी रूपमा प्रभावित क्षेत्रका पीडित परिवारहरूसम्म पुर्याइने उनले बताए ।
र्यालीमा काठमाडौं शिक्षालयका विद्यार्थी, अभिभावक, शिक्षकका साथै नजिकका अन्य शैक्षिक संस्थाका विद्यार्थी एवं सर्वसाधारण साइकलप्रेमीहरूसहित करिब २०० जनाको सहभागिता रहने अनुमान गरिएको छ । सहभागीहरूको भौतिक क्षमता, उमेर समूह र अनुभवलाई ध्यानमा राख्दै दूरीलाई तीन फरक वर्गमा विभाजन गरिएको छ । जसअन्तर्गत १० वर्षमुनिका बालबालिकाका लागि १० किलोमिटर, १५ वर्षसम्मका किशोरकिशोरीका लागि १५ किलोमिटर र अनुभवी तथा व्यावसायिक साइकलचालकहरूका लागि पूरा २५ किलोमिटरको दूरी निर्धारण गरिएको छ । व्यावसायिक समूहका लागि तय गरिएको २५ किलोमिटरको रुटले महालक्ष्मी नगरपालिकाभित्र पर्ने १ देखि १० सम्मका सम्पूर्ण वडाहरूलाई छुने गरी रेखांकन गरिएको छ ।
इमाडोलस्थित काठमाडौं शिक्षालयको प्राङ्गणबाट शुभारम्भ हुने र्याली कृष्ण मन्दिर, ग्वार्को, बालकुमारी पुल, खरिबोट, बोझेपोखरी, टिकाथली, बालकोट, चाँगाथली, लुभु र लामाटार बसपार्क हुँदै सुभतारा स्कुलतर्फ अघि बढ्नेछ । तत्पश्चात् भित्री बाटो हुँदै शंखदेवी मन्दिर पुगेर र्याली फिर्ता सवारीतर्फ मोडिनेछ । फर्कने क्रममा शंखदेवी मन्दिरको भित्री बाटो हुँदै बिसन्डोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका कार्यालय परिक्रमा गरी पुनः काठमाडौँ शिक्षालय परिसरमै पुगेर औपचारिक रूपमा समापन हुनेछ ।