नेपालको इतिहास बलिदान, परिवर्तन र संक्रमणको दस्तावेज हो । देशले लोकतन्त्र प्राप्त गर्न अनेकौं संघर्ष गरेको थियो अनि राजतन्त्रबाट गणतन्त्रको यात्रा तय गर्नु सजिलो काम थिएन । इतिहासको कुनै पनि पाटोलाई कालो वा सेतो मात्र भनेर चित्रण गर्नु न्यायपूर्ण हुँदैन । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको योगदान, आलोचना र वर्तमान परिवेशमा उनको सम्मानको औचित्यमाथि तटस्थ ढंगले चर्चा गर्न आवश्यक छ । यस्तो ढंगबाट जसले उनका विरोधीहरुलाई पनि विचार गर्न बाध्य बनाओस् र उनका समर्थकहरुलाई पनि आत्मसमीक्षा गर्न प्रेरित गरोस् । नेपालको आधुनिक इतिहासमा यदि कुनै व्यक्तिले आफ्ना कर्तव्य, त्याग र विवेकपूर्ण निर्णयद्वारा देशको दिशालाई शान्तिपूर्ण मोड दिएका छन् भने ती हुन् एकमात्र पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेव । उनी न केवल नेपालका अन्तिम संवैधानिक राजा थिए तर उनि एक यस्तो उदाहरण बने जसले सत्ताको मोहभन्दा जनताको चाहना र राष्ट्रको हितलाई प्राथमिकता दिए । गणतान्त्रिक नेपालमा उनको योगदान, शालीनता र राष्ट्रप्रेम अति नै प्रेरणादायक त्यागको रूपमा सदैब रहिरहनेछ ।
२०६३ सालको जनआन्दोलन नेपालको इतिहासमा एउटा ऐतिहासिक मोड थियो । त्यो समयमा जनता सशक्त बनेका थिए, परिवर्तनको आवाज उठेको थियो र राजतन्त्रप्रति असन्तुष्टिको ठूलो लहर थियो । यस्तो संवेदनशील घडीमा देश ठूलो द्वन्द्व, रक्तपात र अस्थिरतातर्फ जान सक्थ्यो तर त्यो भयावह सम्भावनालाई रोक्ने एउटा मात्र अचुक र महत्वपूर्ण निर्णय थियो पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सिंहासन त्याग गर्ने । संसारको इतिहासमा थोरै मात्र यस्ता राजा छन् जसले सत्ता आफैंले छाडेका छन् किनकि जुनसुकै मूल्य चुकाएर भए पनि धेरैजसो सत्तामा टाँसिन चाहन्छन् तर ज्ञानेन्द्र शाहले जनताको आवाजलाई सम्हालेर, विद्रोहलाई रक्तपातबाट जोगाएर मुलुकलाई शान्तिपूर्ण तरिकाले नयाँ मार्गतर्फ लैजाने बाटो देखाए । त्याग गर्नु सजिलो हुँदैन विशेषतः जब त्यो त्याग शताब्दिआँै पुरानो राजवंशको हो जसले राष्ट्र निर्माणमा ठूलो योगदान दिएको थियो तर ज्ञानेन्द्र शाहले सत्ताको मोह होइन तर राष्ट्रको भविष्यलाई महत्व दिए ।
सिंहासन गुमाएपछि विश्वका अन्य देशका नेताहरू जस्तो उनी विदेश पलायन भएनन् । नत उनले राजनीतिक द्वन्द्व नै सिर्जना गरे नत कुनै आक्रोश प्रदर्शन गरे । बरु उनले सादा नागरिकको रूपमा आफ्नो जीवनयात्रालाई निरन्तरता दिए । आज पनि उनी आफ्नै देशमा बस्छन् र आफ्ना जनताको बीचमा रहन रुचाउँछन् । सादा पोशाक, विनम्र व्यवहार र सार्वजनिक कार्यक्रममा उनको शालीन उपस्थितिले उनी राजगद्दी गुमाएको मात्र होइन तर जीवनका मूल्यहरूलाई पनि आफूले आत्मसात् गरेको प्रमाण दिन्छन् । असल मानिसको व्यक्तित्व ठूला पदबाट होइन तर आत्मा र आचरणबाट चिनिन्छ भन्ने कुरा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जीवनशैलीबाट देखाए । उनले कुनै चिल्ला भाषण दिएनन्, कुनै किसिमले राजनीतिमा हस्तक्षेप गरेनन् तर सधै मौन रहेर पनि उनले राष्ट्रप्रेमको उच्चतम मानक प्रस्तुत गरे ।
ज्ञानेन्द्र शाहको शासनकालमा देश कठिन परिस्थितिमा थियो । माओवादी विद्रोह, राजनीतिक अस्थिरता र अन्तर्राष्ट्रिय दबाबको बीचमा उनले राष्ट्रलाई सम्हाल्ने प्रयास गरे । यद्यपि त्यसको मूल्य उनले राजगद्दी गुमाएर चुकाउनु पर्यो तर उनले आफ्नो कदमबाट जनभावनाको सम्मान गरे । जुनसुकै विचारधाराबाट हेरे पनि जनताको निर्णयलाई स्वीकार गर्नु एक सशक्त नेतृत्वको संकेत हो । जब राजतन्त्र समाप्त भयो र उनले सहजै त्यो निर्णय स्वीकार गरे । उनले जनताको मतको अपमान गरेनन् बरु त्यसलाई आत्मसात् गरेर आफू सादा नागरिक बने । यही नम्रता र त्यागले उनलाई नेपाली जनताको मनमा सधैंको लागि स्थान बनायो ।
पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह कुनै साधारण व्यक्ति होइनन् । उनी एक यस्तो राजाका रूपमा परिचित छन् जसले सत्ताको शिखरबाट सादा जनताको बीचमा झर्नु, त्याग गर्न जान्नु र राष्ट्रका लागि मौन सेवा गर्नु जस्ता असल गुणहरु देखाए । उनले आफ्नो पद गुमाए तर आत्मसम्मान, जनताको श्रद्धा र ऐतिहासिक गौरवलाई सदैव उनले कायम राखे । हामी सबैले चाहे जुनसुकै विचार राखौं, पूर्वराजाको त्याग, संयम र राष्ट्रसेवाको सम्मान गर्नैपर्छ । कुनैदिन इतिहास, वर्तमान र भविश्यले पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहलाई केवल राजा भनेर होइन तर राष्ट्रप्रेमी, विवेकी र त्यागी व्यक्तित्वका रूपमा पनि चिन्नेछ ।
आजको राजनीतिमा जहाँ अहंकार, स्वार्थ र बदला प्रवृत्ति हावी छ, त्यहाँ पूर्वराजाको जीवनशैली एक अनुपम उपमा बन्न सक्छ । उनीसँग पनि धेरै अवसर थिए, आफ्नो प्रभाव प्रयोग गरेर पुनः शक्ति प्राप्त गर्ने, आफ्ना प्रशंसकहरूद्वारा आन्दोलन गराउने या प्रतिशोधको नीति अपनाउने तर उनले ती सबै मार्गहरू त्यागेर संयमको बाटो रोजे । वास्तवमा पूर्वराजाको व्यवहारले एउटा कुरालाई पुष्टि गर्छ कि सच्चा राष्ट्रसेवक पदको पछाडि लुकेर बस्दैन किनकि उसले सधैं राष्ट्रको हितलाई प्राथमिकता दिन्छ चाहे परिस्थिति जेसुकै किन नहोस् । पूर्वराजा ज्ञानेन्द्रलाई लिएर विभिन्न विचारधाराहरू उत्पन्न हुनसक्छन् । कोही उनलाई पुरातन राजतन्त्रको प्रतीक मान्न सक्छन् भने कोहीले उनीभित्र गहिरो राष्ट्रवाद देख्न सक्छन् तर एउटा कुरा निर्विवाद सत्य छ कि उनले जुन जिम्मेवारी, नम्रता र धैर्यका साथ मुलुकलाई नयाँ युगमा प्रवेश गराए त्यो सधैं नै स्मरणीय रहनेछ । उनी जस्ता संयमी राजा विश्वका धेरै देशमा भेटिनु दुर्लभ छ । सामान्यतया सत्ता गुमाउँदा द्वन्द्व, हिंसा, र देश टुक्रिने खतरा हुन्छ तर नेपालमा शान्तिपूर्ण संक्रमण हुनुमा पूर्वराजाको विवेक र संयमको भूमिका अतुलनीय रह्यो ।
आज हामी एउटा यस्तो युगमा बाँचिरहेका छौं जहाँ नेताहरू आफ्नो कुर्सीको निम्ति नीतिप्रति होइन तर स्वार्थप्रति समर्पित छन् । यस्तो बेला ज्ञानेन्द्र शाहको जस्तो चरित्रले हामीलाई सम्झाइरहन्छ कि पद अस्थायी हो तर चरित्र मात्र सधैं टिक्ने हुन्छ । उनले गद्दी गुमाएर पनि सम्मान जिते, शान गुमाएर पनि शालीनता देखाए र सत्ता गुमाएर पनि जनताको हृदयमा सधै रहनसक्ने स्थान बनाए । नेपालका लागि यो एउटा दुर्लभ अवसर थियो कि जहाँ एक राजाले जनताको लागि सधैको लागि गद्दी त्यागेर नयाँ युगको लागि ढोका खोलिदिए । यसको महत्वलाई वर्तमान र भावी पुस्ताले पनि बुझ्न आवश्यक छ । इतिहास प्रेरणाको एउटा स्रोत पनि हो र पूर्वराजा ज्ञानेन्द्र शाहको जीवन त्यो प्रेरणाको एउटा उज्यालो तारा हो ।
ज्ञानेन्द्र शाहको जीवन इतिहासका दुई खण्डमा विभाजित छ पहिलो उनी बाल्यकालमा विक्रम सम्बत २००७ सालमा त्रिभुवनको निर्वासनको बेला एकपटक राजा बनेका थिए भने दोस्रोपटक विक्रम सम्बत २०५८ सालको दरबार हत्याकाण्डपछि उनी फेरि नेपालको राजा बने । २०५८ देखि २०६३ सम्म उनको शासनकाल सधैं विवादको केन्द्रमा रह्यो । लोकतान्त्रिक मूल्य र जनआन्दोलनको लहरमा उनी अलोकप्रिय भए जुन इतिहासले पनि देखाएको छ तर प्रश्न उठ्छ के उनी मात्र दोषी थिए? के ती कालखण्डका राजनीतिज्ञहरूले कुनै गल्ती गरेनन्? के उनले जनताको आवाज सधैं दबाएका थिए वा उनले सुरक्षाको ख्याल गरेका थिए? ज्ञानेन्द्र शाहले २०६१ मा प्रत्यक्ष शासन लिएका थिए जुन निर्णय विवादास्पद रह्यो तर त्यो निर्णयको पछाडिको मनोविज्ञान बुझ्न जरुरी छ । माओवादी द्वन्द्व, दलहरूको असहयोग, भ्रष्टाचार र शासनमा असक्षमताले देशलाई अस्थिर बनाउँदै लगेको बेला उनले राजसंस्थालाई राष्ट्रको केन्द्र बनाउँदै शान्ति स्थापना गर्न प्रयास गरेका थिए ।
राजसंस्थालाई केवल शक्ति केन्द्रको रूपमा मात्र हेर्नु अधुरो दृष्टिकोण हो । नेपालको एकीकरणदेखि राष्ट्र निर्माणसम्म राजाहरूको भूमिका निर्णायक रहिआएको छ । पृथ्वीनारायण शाहले मुलुकको भूगोल मात्र होइन तर एकताको भावनालाई पनि सुदृढ गरे । ती विरासतलाई बोकेर आएको राजसंस्था कुनै सामान्य संस्था होइन, यो राष्ट्रको मौलिकता, पहिचान र एकताको प्रतीक हो । ज्ञानेन्द्र शाहको शासनकालमा वातावरण, पर्यटन र शिक्षा क्षेत्रमा केही सुधारका प्रयासहरू भएका पनि थिए । साथै उनले धेरैजसो समय बाह्य शक्तिको प्रभावबाट नेपालको परराष्ट्र नीति बचाउने कोसिस गरेका थिए जुन आजको सन्दर्भमा झनै महत्वपूर्ण हुन्छ ।
२०६३ सालपछि नेपाल गणतन्त्र मुलुकको रुपमा घोषित भयो । जनताको आकांक्षामा आधारित यो परिवर्तनलाई सम्मान गर्नु आवश्यक छ तर गणतन्त्रको दुई दशकपछि पनि राजनीतिक स्थायित्व, सुशासन र राष्ट्रिय एकता अझै अधुरै छ । दलहरूमा आपसी कलह, भ्रष्टाचार, वैदेशिक हस्तक्षेप र जनताको विश्वासमा गिरावट देखिएको छ । यस्तो अवस्थामा केही जनताले राजसंस्थाप्रतिको आकर्षण दोहो¥याउन थालेका छन् तर यो आकांक्षा राष्ट्रप्रेम, स्थिरता र स्वाभिमानको प्रतीकको रूपमा मात्र रहन सक्नुपर्छ । ज्ञानेन्द्र शाहले पनि पछिल्ला वर्षहरूमा धेरै संयमित भूमिका निर्वाह गरेका छन् । उनले खुलेर गणतन्त्रको विरोध नगरी राष्ट्रको हितको पक्षमा बोलेका छन् । हरेक सार्वजनिक कार्यक्रममा ‘राष्ट्र पहिलो’ भन्ने उनको भनाइले गहिरो राष्ट्रिय भावनालाई छोएको छ ।
पूर्वराजालाई न्याय भन्नाले केवल अदालतको फैसलाको कुरा होइन तर सामाजिक, राजनीतिक र ऐतिहासिक न्यायको कुरा हो । उनीमाथि कुनै प्रमाणित आपराधिक दोष छैन तर उनलाई जसरी लगातार उपेक्षा, आलोचना र तिरस्कार गरिन्छ त्यो निष्पक्षताको संकेत होइन । किन हामी उनीसँग संवाद गर्न सक्दैनौँ? किन उनलाई सम्मानजनक स्थान दिन सक्दैनौँ? यदि उनी राष्ट्रको दीर्घकालीन हित चाहन्छन् भने हामी किन उनीसँग सहकार्यको आधार खोज्न सक्दैनौँ? यो न्याय भनेको सत्ताको माग होइन तर प्रतिष्ठाको पुनस्र्थापना हो जसले हामीलाई आपसी द्वन्द्व होइन तर सहअस्तित्वतर्फ डोर्याउँछ । राजनीतिक नेतृत्वले आज आवश्यकता परे झैँ मात्र पूर्वराजालाई सम्झनु हुँदैन । उनीमाथि आरोप लगाउनेको पनि दायित्व हो कि तथ्य र प्रमाणका आधारमा मात्रै आफ्नो भनाइ राखून् । लोकतन्त्रको सौन्दर्य नै आलोचना हो तर त्यो आलोचना सधैं तर्कसंगत, मर्यादित र मुलुकको हितमा आधारित हुनुपर्छ । जनताले पनि कट्टर समर्थक वा कट्टर विरोधीको भूमिकाबाट माथि उठेर विचार गर्नुपर्ने बेला आएको छ । देशको संकट समाधान केवल एक पक्षको जीतले होइन तर आपसी समझदारीले मात्रै सम्भव हुन्छ ।
नेपालको संविधानले सुनिश्चित गरेको संविधान प्रदत्त संवैधानिक अधिकारका आधारमा ज्ञानेन्द्र शाह पनि यो राष्ट्रका नागरिक हुन् । लोकतन्त्रमा सबै नागरिकलाई सम्मान र सुरक्षाको प्रत्याभूति हुन्छ । त्यसैले पनि पूर्वराजालाई अपमान गर्नु संविधानको भावना विपरीत हो । राष्ट्रिय एकताको प्रतीकको रूपमा हिजोका राजाहरूले यो राष्ट्रलाई एकताको शुत्रमा बाँधेको इतिहास छ । त्यो योगदानलाई इन्कार गरेर हामी सधैं असन्तुलित मानसिकतामा रहिरहनेछौँ । संवेदनशीलता र संयमितताको एक उदाहरण पूर्वराजालाई मान्नुपर्ने नै हुन्छ । आज पनि उनी संयमित भाषामा राष्ट्रको चिन्ता गरिरहेका छन् ।
यो सत्य हो कि ज्ञानेन्द्र शाहको शासनमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भयो, पत्रकारहरू दमनमा परे, राजनीतिक दलहरूलाई नियन्त्रणमा राखियो । यसबारे बहस आवश्यक छ र उनले पनि आत्मसमीक्षा गर्नुपर्ने पक्षहरू छन् तर उनले त्यही समयमा देशको एकता, सीमाना सुरक्षालगायत विषयमा देखाएको सक्रियता पनि प्रशंसायोग्य छ । यसको अर्थ एकपक्षीय होइन तर दुबै पक्षलाई हेरेर मात्र ठिक निष्कर्षमा पुग्न सकिन्छ । हाम्रो आजको राजनीतिमा, हाम्रो समाजमा र भावी नेतृत्व विकासमा पूर्वराजा ज्ञानेन्द्र शाहको योगदान केवल ऐतिहासिक दृष्टिकोणबाट होइन तर अन्य दृष्टिकोणबाट पनि अध्ययन गर्नुपर्छ । आजको पुस्ताले बुझ्न आवश्यक छ कि सत्ताको मोहभन्दा राष्ट्रप्रेम, अहंकारभन्दा विनम्रता र प्रतिशोधभन्दा संयम बलियो हुन्छ । पूर्वराजाले देखाएको बाटो सहिष्णुता, त्याग र समर्पणता नेपालको राजनीतिमा नयाँ संस्कारको बीजारोपण हो । यदि हामी त्यो मार्गलाई पछ्याउन सक्यौं भने नेपालको भविष्य अझ उज्यालो हुनसक्छ ।
नेपाल एक परिवर्तनशील राष्ट्र हो । यहाँ विचार, व्यवस्था र नेतृत्व फेरिँदै गएका छन् । परिवर्तनले विगतलाई मेट्दैन बरु विगतलाई बुझेर वर्तमानलाई निर्देशित गर्छ । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवको विषयमा अब भावनाले मात्र होइन तर विवेकले निर्णय गर्ने समय आएको छ । नत उनलाई देवता बनाउने न त राक्षस नै । उनी नेपाली इतिहासका एक पात्र हुन् जसलाई निष्पक्ष मूल्यांकन र सम्मान जरुरी छ । राजनीतिक नेतृत्वले उनले बोलेका कुरालाई सुन्नुपर्छ र नमाने पनि आलोचना गर्नुभन्दा पहिले बुझ्नुपर्छ । जनताहरुले पनि उनीप्रति नत अन्धसमर्थन नत अन्धविरोधिको बाटो अपनाऊन् । यदि हामी साँच्चै राष्ट्रलाई समृद्ध, समावेशी र न्यायपूर्ण बनाउन चाहन्छौँ भने विगतका पात्रहरूप्रति पनि न्याय गरिनुपर्छ र त्यो न्याय ज्ञानेन्द्र शाहलाई पनि मिल्नुपर्छ ।