काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यास अभाव हुन थालेको करिब तीन साता हुन लागे पनि समाधान हुन सकेको छैन । अहिले पनि सर्वसाधारणले ग्यास लिन घण्टौं लाइन बस्नुपर्ने बाध्यता रहेको हो । सरकारी निकायको कमजोरीका कारण सर्वसाधारणले दुःख पाएका हुन् । ग्यास अभावको बीचमा बहालमा बस्ने विद्यार्थीहरूलाई ग्यास दिनको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले निर्देशनसमेत दिएको छिन् ।शनिबार बजार अनुगमनका क्रममा मन्त्री यादवले कीर्तिपुर क्षेत्रमा बहाल गरी बस्दै आएका विद्यार्थीहरूलाई प्राथमिकता राखी ग्यास वितरण गर्न वितरक तथा पसलहरूलाई निर्देशन दिइन् । ‘कीर्तिपुर शैक्षिक केन्द्र भएकोले त्यहाँ धेरै विद्यार्थीहरू बहालमा बस्ने गरेका छन्, ग्यास अभाव भएमा उनीहरू समस्यामा पर्ने छन्,’ उनले भनिन् । त्यसैले ग्यास वितरक कम्पनीहरूले विद्यार्थीहरूलाई प्राथमिकतामा राखी ग्यास वितरण गर्नू । साविकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दाबीबीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न मन्त्री यादवले शनिबार काठमाडौंमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गरेकी हुन् ।
मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्यांकबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन गरेको मन्त्री यादवको सचिवालयले जनाएको छ । त्यसक्रममा उद्योग मन्त्रीले विद्यार्थी, मजदुर तथा अप्ठ्यारामा परेका नागरिकलाई प्राथमिकता दिएर ग्यास बिक्री गर्न निर्देशन दिएकी थिइन् । ग्यास अभाव देखिएपछि निगमको निर्देशनमा यही १६ साउनदेखि नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यास उद्योगले टेकुबाट ग्यासको बिक्री वितरण गरिरहेका छन् । उपभोक्ताको गुनासो सम्बोधन गर्न निगमले ‘क्विक रेन्पोन्स टिम’ गठन गरेर ग्यासको बिक्री वितरणलाई सहज बनाइरहेको छ ।
उपत्यकामा मात्रै एक दिनमा करिब ४० हजार सिलिन्डर ग्यास बिक्री भइरहेको निगमले जनाएको छ । निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले ग्यासको आयात नियमित भइरहेको जनाउँदै आगामी दिनमा आयातको परिणाम वृद्धि गर्ने प्रयास भइरहेको बताए ।उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ । सरकारले ग्यासको अनुमगन तीव्र बनाए पनि बजारमा भने ग्यास अभाव रहेको छ । काठमाडौं उपत्यकामा मात्र नभई पोखरा, सुर्खेतलगायतका सहरमा समेत ग्यास अभाव भएको छ । पोखरा, सुर्खेत लगायतका सहरमा पनि सर्वसाधारण ग्यास लिनका लागि घण्टौं सम्म लाइन बस्नु परेको छ । सरकारले ग्यास अभाव हुन नदिन आपूर्ति बढाए पनि सहज हुन सकेको छैन । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकानाका स्थानीयहरू पनि ग्यास नहुँदा खाना बनाउन समस्या भएको बताउँछन् । उक्त वडाका सुरज ठकुरीले ग्यास अभाव भएको कारण बिजुली चुल्हो किनेर ल्याएको बताए ।
‘ग्यास अभाव भए पछि खाना बनाउनका लागि बिजुली चुलो प्रयोग गर्न थालेको छौं,’ उनले भने । आधा सिलिन्डर ग्यास धेरै समय नपुग्ने र ग्यास लिनको लागि पसलमा नआउदा सम्म पर्खनु पर्ने अवस्थाका कारण बिजुली चुल्हो खरिद गर्नु परेको छ । परिवार ठूलो रहेको छ भान्समा ग्यासको खपत पनि बढी छ तर सहजै नपाइने हुँदा विकल्पको रुपमा विद्युतीय चुल्हो प्रयोग गरेको छु, त्यसैले गर्दा ग्यासको अभाव भने टरकेो छ । बजारमा ग्यासको अभाव हुन थाले पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ग्यासको आपूर्ति बढाउने निर्णय गरेको थियो । मंगलबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे समीक्षा गरिएको थियो ।
छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको दाबी गरेका थिए । पश्चिम एसियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले सात दशमलव एक किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४ दशमलव दुई किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको धारणा थियो । व्यवसायीहरूले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरूले आवश्यकभन्दा बढी भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताएका थिए । आधा सिलिन्डर ग्यास लिँदा धेरै उपभोक्ताले थप सिलिन्डर प्रयोग गरेको कारण सरकारले ग्यास आपूर्ति बढाउँदा पनि ग्यासको अभाव हुन पुगेको देखिन्छ । सरकारले ग्यासको व्यवस्थापन गर्न नसक्दा समस्या हुन पुगकेो हो । छलफलमा आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई मध्यनजर गर्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ । मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरोकारवालासँग आगामी दिनमा पनि छुट्टै ढंगले छलफल जारी राख्ने बताएका थिए ।
बढी मूल्यमा बेच्ने पक्राउ
यसैबीच, खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बस्ने वर्ष ५७ को तुलसीराम त्वयना रहेका छन् । उनले उपभोक्ताहरूलाई प्रति सिलिन्डर ७ हजारका दरले बिक्री वितरण गरेको भन्ने जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।उनले सोही स्थानमा ‘त्वयना किराना पसल’ सञ्चालन गर्दै आएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, त्वयनाले उपभोक्ताहरूलाई प्रतिसिलिन्डर सात हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको भन्ने सूचना प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पसलमा चेकजाँच तथा अनुगमन गर्दा तीन थान सिलिन्डर फेला पारेको थियो ।बजार मूल्यभन्दा बढी मूल्यमा ग्यासे बिक्रीको गरेको आरोपममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार कार्कीले पक्राउ परेका त्वयनामाथि हिरासतमा राखी थप अनुसन्धान गरिने जानकारी दिए ।