काठमाडौं । समाजको चलनअनुसार ६९, ७३ र ६५ वर्ष भनेको धर्मकर्ममा लाग्ने उमेर हो । यो बेला मानिसहरू दान धर्ममा रमाउँदै सबैको भलो चिताउने गर्छन् । तर यही समाजमा कतिपय व्यक्ति उमेरले बुढेसकाल लाग्दा पनि अरुको खाऊँ, लुटौं, ठगौं भन्नेमै तल्लीन हुन्छन् । यसकै उदाहरण हुन्– ६९ वर्षीय अनितादेवी पुडासैनी, ७३ वर्षीय सुर्दशन पुडासैनी र ६५ वर्षीय नवराज पुडासैनी । यी तीनमध्येका सुर्दशनले एक परिवारको बिचल्ली बनाइदिएका छन् । ‘सानीआमा ठूलीआमाको छोरा’को नाता लिएर उनले काठमाडौंको मूलपानी ६ स्थित रामकृष्ण फुयालको परिवारलाई भताभुंग पारिदिएका छन् । मूल व्यक्तिको मृत्युअघि अनेक जालझेल गरेर यो परिवारको करोडौँको सबै अचल सम्पत्ति आफ्नो र आफ्नो श्रीमतीको नाउँमा ल्याएका हुन् ।

पैतृक सम्पत्ति अरुकै नाममा गइसकेको यस परिवारका छोरीहरू लक्ष्मी रामकृष्ण फुयाल र सुनिता रामकृष्ण फुयालले निकै पछि मात्र थाहा पाएका थिए । योसँगै सम्पत्ति फिर्ता माग्दा मोबाइलबाट र एसएमएसमार्फत सुदर्शनले धम्क्याउने गरेको उनीहरू बताउँछन् । ‘कसैले केही गरेर हुनेवाला केही छैन । सम्पत्तिमाथि मेरो हक छ । यस्तो भिडियो बनाउँदैमा केही हुँदैन । यस्तो भिडियो त म पनि कति बनाइदिन्छु । मलाई तिम्रो बाउको मृत्युदर्ताको प्रमापत्र पत्र ल्याइदिनु अरु कुरा म जान्दिन’, सुदर्शनको धम्की सुनाउँदै उनीहरू भन्छन्, ‘बुबाको नाउँमा रहेको पैत्रिक सम्पत्ति माथिको हक हाम्रो हो । तर सम्पत्ति फिर्ता माग्दा धम्की दिँदै जे गर्न सक्छौ गर भन्छन् ।’ बुबाको नाउँमा भएको करोडौंको पैत्रिक सम्पत्ति धोकाधडी गरेर खाईदिएपछि पीडित स्व.रामकृष्णको छोरीद्धय लक्ष्मी र सुनिता न्याय माग्दै काठमाडौं जिल्ला अदालत पुगेका थिए । तर उनीहरूले यो मुद्दा हारे । ‘अदालतमा के भयो थाहा छैन, हामीलाई मुद्दा हराइयो, आफ्नै बाउको पैत्रिक सम्पत्ति माथिको हाम्रो जन्मसिद्ध हकबाट हामीलाई विमुख र बञ्चित गराइयो’, उनीहरू भन्छन् । गैरकानुनी रुपमा सम्पत्ति कब्जा गर्नेकै पक्षमा फैसला आएपछि अहिले उनीहरूले उच्च अदालतमा मुद्दा हालेका छन् । ‘त्यो फैसला हामीलाई चित्त बुझेन, हामी माथि घोर अन्याय भएको महसुस ग¥यौं । त्यसपछि हामी उच्च अदालतमा गयौं । अहिले उच्च अदालतमा यो मुद्दा विचाराधीन छ । हेरौं फैसला कस्तो आउँछ’, पीडित लक्ष्मीले आर्थिक दैनिकसँग भनिन् ।

संगठित षड्यन्त्रबाट सम्पत्ति हडप्ने प्रयास
स्वर्गीय रामकृष्ण फुयालको करोडौं मूल्य बराबरको अंशबापत प्राप्त पैतृक सम्पत्तिसँग सम्बन्धि विवादमा सार्वजनिक भएका थप कागजातहरूले घटनालाई नयाँ मोड दिएका छन् । अदालतमा पेस गरिएका निवेदन तथा कानुनी जिकिरहरूमा स्व. फुयालको सम्पत्ति योजनाबद्ध रूपमा हडप्न किर्ते कागजात, जालसाजी, बैंकिङ अनियमितता तथा झुटा नाता सम्बन्ध प्रयोग गरिएको आरोप लगाइएको छ ।सार्वजनिक कागजातमा स्व. रामकृष्ण फुयाल क्यान्सरबाट पीडित रहेको र उनको कमजोर स्वास्थ्य अवस्था, कमजोर आर्थिक हैसियत र भारतको मुम्बइमा बसोबास गर्ने गरेको पारिवारिक अवस्थाको फाइदा उठाएर सुदर्शन पुडासैनीले विभिन्न व्यक्तिसँग मिलेमतो गरी सम्पत्ति आफ्नो नियन्त्रणमा लिने योजना बनाएको दाबी गरिएको छ । निवेदनमा स्व. फुयाँलको उपचार, बैंक कारोबार, जग्गा खरिद–बिक्री तथा बकसपत्र सम्मका गतिविधिमा गम्भीर अनियमितता भएको आरोप उल्लेख गरिएको छ ।

कागजातमा स्व. फुयालको उपचार उनकी श्रीमती र छोरीहरूले मुम्बइमै गराएको तथा उपचारपछि मृत्यु संस्कारसमेत परिवारकै सदस्यबाट उतै सम्पन्न भएको दाबी गरिएको छ । तर, बकसपत्र लिने सुदर्शन पुडासैनीले रामकृष्ण फुयालको उपचार र हेरचाह पालनपोषण आफूले नेपालमा गरेको भन्दै निजको सवै सम्पत्ति आफ्नो नाममा पार्ने प्रयास गरिएको आरोप लगाइएको छ । उपचार कहाँ, कसले र कति खर्चमा गराएको हो भन्ने विषयमा अस्पताल, चिकित्सक तथा उपचारसम्बन्धी बिल–भौचरबाट पुष्टि गर्न छोरी लक्ष्मी फुयाले फिरादमार्फत माग गरेकी छन् । निवेदनमा सुदर्शन पुडासैनीले स्व. फुयाँलको नाममा रहेका केही टुक्रा घडेरी जग्गा निजबाट बिक्री गराइ उक्त जग्गा बिक्रीबाट आएको रकमसमेत रामकृष्ण फुयालको खाताबाट तत्काल आफ्नो खातामा सारेको, रामकृष्णको बैंक खाताको सञ्चालन तथा एसएमएस अलर्टसमेत आफ्नो मोबाइल नम्बर दिई नियन्त्रणमा राखेको आरोप लगाइएको छ । पीडितले नेपाल इन्भेस्टमेन्ट बैंकको बैंक स्टेटमेन्ट, खाता सञ्चालन विवरण तथा रकम स्थानान्तरणसम्बन्धी अभिलेख झिकाएर सत्य तथ्य बुझी न्याय निरुपण गरिपाउन अदालतसँग माग गरिएको छ ।
यसैगरी, २०६५ सालमा पारित गरिएको शेषपछिको बकसपत्रको विषयमा पनि गम्भीर प्रश्न उठाइएको छ । आफ्नो श्रीमती र दुई छोरी जीवित रहेकै अवस्थामा परिवारको सदस्यलाई कुनैपनि जानकारी नहुने गरी गुपचुप र गोप्य रुपमा परिवारको सदस्य वा परिवारको सदस्यको तर्फबाट साक्षीसमेत नराखि आफ्नो पैत्रिक सम्पत्तिको हकखाने गरी कसरी गैरपरिवारको सदस्यलाई अधिकार दिन सकिन्छ र मान्य हुन्छ सोचनीय छैन र निवेदनमा सुदर्शन पुडासैनीले आफ्नो एकाघरकी श्रीमतीको नाममा रामकृष्ण फुयालको नाममा रहेको जग्गा दाखिला खारेज गरी लैजादा मालपोत कार्यालय चाबहिलमा जग्गा खरिद बापत रकम भुक्तानीको निस्सा प्रमाण स्वरुप पेस गरिएको चेक नक्कली रहेको र उक्त चेकबाट कुनै रकम भुक्तानी नभएको अवस्थाका सम्बन्धमा फिरादपत्रमा दाबी गरिँदा निज सुदर्शन पुडासैनी र श्रीमती अनिता देवीले अदालतमा प्रत्युत्तरपत्र पेस गर्दा भने हामीले नगद भुक्तानी गरेको जिकिर गरिएको बाट निजहरूको दाबी झुठो रहेको पुष्टि गर्दैन र ? एउटै कारोबारमा भुक्तानीको प्रमाण पेस गर्दा मालपोत कार्यालयमा चेकको फोटोकपी पेस गर्ने र हामीले नगद नै भुक्तानी गरेको भनेर लिखित प्रतिवाद गर्नु जालसाजी भएको पुष्टि हुदैन र ? एउटै कारोबारमा दुई फरक निकायमा फरक–फरक निस्सा वा प्रमाण र दाबी प्रस्तुत गरिएको छ ।
जग्गा खरिद बिक्री गर्दा १० लाख रुपैयाँभन्दा माथिको कारोबारमा नगद लेनदेन गर्न नपाइने, १० लाख रुपैंयाँ भन्दा माथिको रकमको कारोबारमा बैंकिङ प्रणाली, ‘गुड फर पेमेन्ट’ गरिएको चेक, प्यान कार्ड, आम्दानीको स्रोतलगायतका कागजात अनिवार्य हुने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै प्रस्तुत कारोबारमा ती प्रक्रिया पालना नभएको दाबी गरिएको छ । त्यसैले सम्पूर्ण बैंकिङ अभिलेख, मालपोत कार्यालयका कागजात तथा कारोबारसँग सम्बन्धित व्यक्तिहरूको बयान झिकाएर निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।
निवेदनमा स्व. रामकृष्ण फुयालको पैतृक सम्पत्तिमा उनकी श्रीमती र छोरीहरूको कानुनी हक रहेको दाबी गर्दै उनीहरू जीवित रहँदासम्म कुनै पनि बकसपत्र वा सम्पत्ति हस्तान्तरण गर्दा उनीहरूको सहमति तथा कानुनी प्रक्रिया आवश्यक पर्ने उल्लेख गरिएको छ । यस्तो अवस्थामा परिवारलाई जानकारी नै नहुने गरी लुकाइछिपाइ गरी सम्पत्ति हस्तान्तरण गरिएको भए त्यो कार्य स्वतः शंकास्पद हुने जिकिर गरिएको छ ।
यसैबीच, सुदर्शन पुडासैनीसँगै उनका आफन्त, निकट सहयोगी तथा मालपोत कार्यालयसँग सम्बन्धित व्यक्तिहरूको नामसमेत उल्लेख गर्दै संगठित रूपमा आर्थिक चलखेल भएको आरोप कागजातमा समावेश गरिएको छ । उनीहरूमार्फत करोडौं रुपैयाँको कारोबार भएको दाबी गर्दै त्यसको स्रोत र वैधानिकता छानबिन गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।
यसअघि सार्वजनिक भएका बकसपत्र, प्रत्युत्तरपत्र तथा पछिल्ला निवेदनहरूले सम्पूर्ण विवादको केन्द्रमा स्व. रामकृष्ण फुयालको सम्पत्ति, २०६५ सालको बकसपत्र, जग्गा राजीनामा, बैंकिङ कारोबार, कथित दाजुभाईको नाता सम्बन्ध तथा किर्ते कागजात रहेको देखिएको छ ।
योजनाबद्ध जालसाजी
क्यान्सरबाट पीडित रहँदा तथा उपचारकै क्रममा रहेका स्वर्गीय रामकृष्ण फुयालको सम्पत्ति हडप्न योजनाबद्ध रूपमा जालसाजी, किर्ते कागजात तयार, नक्कली भुक्तानी विवरण, बैंकिङ तथा मालपोत प्रक्रियाको दुरुपयोग गरिएको आरोप लगाउँदै पीडित पक्षले सम्बन्धित निकायसँग निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ ।
अदालतमा पेस गरिएका कागजात तथा निवेदनका आधारमा फुयालका एकाघरका श्रीमती र दुई छोरीलाई कानुनी हकबाट वञ्चित गर्ने उद्देश्यले रामकृष्ण फुयाल क्यान्सरको अन्तिम अवस्थामै रहेका बेला उनको नाममा रहेको करोडौं रुपैयाँ बराबरको पैतृक तथा व्यक्तिगत सम्पत्ति योजनाबद्ध रूपमा आफ्नै श्रीमती अनिता देवी पुडासैनीको नाममा दाखिला खारेज गरिएको छ ।
पीडित पक्षका अनुसार फुयालको उपचार, हेरचाह तथा सम्पत्तिसम्बन्धी जिम्मेवारी लिएका व्यक्तिहरूले उनको कमजोर स्वास्थ्य अवस्थाको फाइदा उठाउँदै शेषपछिको बकसपत्र (अष्टलोह), जग्गा खरिद–बिक्री तथा नामसारी प्रक्रियामा किर्ते कागजात प्रयोग गरेका छन् । फुयालको मृत्यु नहुँदै सम्पत्ति आफ्नो नियन्त्रणमा ल्याउने उद्देश्यले विभिन्न प्रकारका झुठ्ठा लिखत तयार गरिएको र त्यसका लागि नक्कली प्रमाण तथा झुटा विवरण पेस गरिएको आरोप छ ।निवेदनमा २०७४ असोज १७ गते गरिएको करिब एक करोड ५७ लाख रुपैयाँ बराबरको जग्गा कारोबारमा वास्तविक भुक्तानी नै नभएको दाबी गरिएको छ । मालपोत कार्यालयमा रकम भुक्तानी भएको देखाउन नक्कली चेक तथा अन्य कागजात पेस गरिएको, तर अदालतमा भने नगदमै भुक्तानी गरिएको जिकिर गरिएको भन्दै दुवै दाबी परस्पर विरोधाभाषपूर्ण रहेको उल्लेख गरिएको छ ।
१० लाख रुपैयाँभन्दा माथिको कारोबारमा बैंकिङ माध्यम अनिवार्य हुने तथा ५० लाख रुपैयाँभन्दा माथिको कारोबारमा बैंकिङ च्यानलमार्फत नै भुक्तानी गरिएको प्रमाण पेस गर्नुपर्ने कानुनी व्यवस्था पालना नगरिएको दाबी पनि निवेदनमा गरिएको छ । त्यस्तै, नेपाल एसबीआई बैंक र तत्कालीन किस्ट बैंकका नन एमआईसीआर चेक प्रयोग गरिएको, बैंक खाताको एसएमएस अलर्टसमेत सुर्दशन पुडासैनीको आफ्नै मोबाइल नम्बरमा राखिएको तथा फुयालको खातामा आएको रकम अन्य खातामा सारिएको आरोप पनि फिराद पत्रमा समेटिएको छ ।
रामकृष्ण फुयालको उपचार श्रीमती र छोरीहरूले आफ्नै खर्चमा विभिन्न अस्पतालमा गराएको उल्लेख गर्दै, उपचार खर्च, अस्पतालका बिल तथा अन्य प्रमाणहरू आफूसँग रहेको जनाएको छ । शेषपछिको उपचारको जिम्मेवारी लिएको दाबी गर्ने पक्षले कुन अस्पतालमा कहिले उपचार गरायो भन्ने प्रमाण पेस गर्न नसकेको पनि निवेदनमा उल्लेख छ ।यस्तै, रामकृष्ण फुयालको नाममा रहेका अन्य टुक्रा जग्गाहरूसमेत न्यूनतम मूल्यमा बिक्री गराइ गरी त्यसबाट प्राप्त रकम फुयालको खाताबाट तत्कालै सुर्दशन पुडासैनीले आफ्नो बैक खातामा सार्ने गरेको, मालपोत कार्यालयका कर्मचारीलगायत आफ्ना नातेदारहरूको मिलेमतोमा विभिन्न लिखत तयार गरिएको, किर्ते कागजात बनाइएको तथा नक्कली ऋणसम्बन्धी कागजातसमेत तयार पारिएको आरोप लगाइएको छ ।
सो अनुसार सुर्दशनले नाताले आफ्नै सहोदर भतिजा पर्ने बिनोद पुडासैनीसंग ४२ लाख, सहोदर भतिजा राजेश्वर पुडासैनीसंग ३४ लाख, नाताले कान्छो छोरोको ससुरो अर्थात् आफ्नै सम्धीसंंग ४४ लाख र चाबहिल मालपोतका लेखन्दास (आफ्नै पार्टर) संग ३७ लाख रुपैयाँसमेत गरी कुल एक करोड ५७ लाख रुपैयाँ ऋण लिएको देखाइएको छ । फिराद पत्रमा रामकृष्ण फुयालको पैतृक सम्पत्तिबाट श्रीमती र दुई छोरीलाई वञ्चित गर्न सुनियोजित रूपमा परिवार बाहिरका व्यक्तिहरू, आफन्त तथा केही कर्मचारीसमेतको संलग्नतामा संगठित रुपमै जालसाजी भएको दाबी गरिएको छ ।
यसबाहेक, फुयालको मृत्यु मितिसम्बन्धी विवरण, पशुपति आर्यघाटका बिलहरू, वडाबाट गरिएको सिफारिस, नागरिकता तथा अन्य कागजातहरूमा समेत शंका उत्पन्न हुने अवस्था रहेको भन्दै ती सबैको फरेन्सिक परीक्षण गर्न माग गरिएको छ । पीडित पक्षले यस प्रकरणमा प्रयोग भएका सम्पूर्ण बैंकिङ अभिलेख, मालपोत कार्यालयका कागजात, जग्गा रजिस्ट्रेसन प्रक्रिया, उपचारसम्बन्धी अभिलेख, मोबाइल एसएमएस विवरण, हस्ताक्षर तथा कागजातहरूको वैज्ञानिक परीक्षण गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । साथै, संलग्न भनिएका सबै व्यक्तिमाथि कानुनबमोजिम अनुसन्धान गरी दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
२०६५ सालमै लेखिएको थियो बकसपत्र
पैतृक सम्पत्ति अंशस्वरुप प्राप्त हुनुपूर्व नै २०६५ साउन २३ गते तयार गरिएको शेषपछिको बकसपत्र गराई लिएको कुरा सार्वजनिक भएसँगै पारिवारिक सम्पत्ति हस्तान्तरणसम्बन्धी विषय फेरि चर्चामा आएको छ । उपलब्ध कागजातअनुसार बकसपत्रमार्फत स्व. रामकृष्ण फुयालले आफ्नो नाममा रहेको सम्पूर्ण चल–अचल सम्पत्ति सुदर्शन पुडासैनीलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । बकसपत्रमा आफू निसन्तान रहेको उल्लेख गर्दै रामकृष्ण फुयालले जीवनभर आफ्नो पालनपोषण, औषधोपचार तथा आवश्यक सहयोग सुदर्शन पुडासैनीले गरेको जनाएका छन् ।
साथै, आफ्नो मृत्यु पश्चात् धार्मिक संस्कार तथा काजकिरियासमेत सुदर्शनले नै गर्ने विश्वासका आधारमा सम्पूर्ण सम्पत्ति एकलौटी रूपमा भोगचलन गर्न पाउने गरी बकसपत्रमा उल्लेख गरिएको छ । कागजातमा रामकृष्ण फुयाँलले आफ्नो मृत्यु भएपछि नेपाल अधिराज्यभर रहेका आफ्नो नामका सम्पूर्ण चल–अचल श्रीसम्पत्ति तथा भविष्यमा प्राप्त हुने कानुनी हकसमेत सुदर्शन पुडासैनीले उपभोग गर्न पाउने व्यवस्था गरिएको देखिन्छ । बकसपत्र सम्बन्धित कार्यालयबाट विधिवत् दर्ता तथा रजिस्ट्रेसन गरिएको उल्लेख छ । कागजातमा दाता रामकृष्ण फुयाल र बकसपत्र ग्रहणकर्ता सुदर्शन पुडासैनीको नाम तथा दस्तखतसमेत समावेश छन् ।
के भन्छन् आरोपित सुर्दशन ?
रामकृष्ण फुयालको जग्गाको विषयमा आरोपित भनिएका सुदर्शन पुडासैनीले भने उक्त विषयमा मिल्ने भन्ने नभएको बताउँछन् । ‘मुद्दा अदालतमा छ, जे हुन्छ, अदालतले गर्छ‘, उनले भने । आफूले रामकृष्ण फुयाललाई १५ वर्षसम्म पालनपोषण र औषधिउपचार गरेपछि फुयालले उक्त सम्पत्ति आफूलाई कानुन सम्वतरुपमा बकस पत्र गरेर दिएका हुन् ।

सोही आधारमा आफूले उक्त जग्गा पाएको उनले बताए । ‘यदि म गलत थिएँ भने अदालतले मेरै पक्षमा कसरी फैसला गथ्र्यो । त्यही फैसला चित्त नबुझेर उनीहरू अहिले उच्च अदालत गएका छन् । अब जे गर्छ, अदालतले गर्छ, म यसमा केही बोल्दिनँ‘, पुडासैनी भन्छन् ।
यता पीडित पक्षले भने उक्त जग्गाको विवाद सुल्झाउन र स्थानीयस्तरमा नै विवाद समाधान गर्न कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको रोहबरमा छलफलसमेत भएको बताएको छ । नेपाली काँग्रेस कागेश्वरी नगरपालिकाका नगरकमिटीका सभापति उद्धव दाहालको संयोजकत्वमा मिलापत्रको लागि छलफल भई सम्झौंताको ड्राफ्ट समेत तयार गरेको भएपनि अन्तिम समयमा आरोपीत व्यक्ति पुडासैनीले यो विषयमा कुनै पनि सम्झौता नहुने भन्दै हात झिकेको पीडित बताउँछन । सोही विषयमा संयोजनकारी भूमिका खेल्ने दाहाल भन्छन्, ‘मैले मेयरकै रोहबरमा दुवै पक्षलाई राखेर मिलाउन हदैसम्मको कोशिष गरेको हँुु, तर मिल्दै मिलेनन् के गर्ने ? अहिले पनि दुवै पक्ष तयार हुन्छन भने मिलाउने कोसिस गर्छ, त्यो भूमिका निर्वाह गर्न तयार छु ।‘ उनी भन्छन् ।
सो विषयमा कागेश्वरी मनोहरा नागरपालिकी उपमेयर शान्ता थापा भने आफू न्यायक समितिमा भए पनि यसको बारेमा आफूलाई जानकारी नभएको बताउँछिन् । ‘मेयरसापकै रोहबरमा भएको भनेपछि सबै कुरा उहाँलाई थाहा होला ।‘, उनी भन्छन् । सोही विषयमा मेयर उपेन्द्र कार्की पनि दाहाल कै संयोजकत्वमा आफूले दुवै पक्षलाई मिलाउन कोसिस गरेको भए पनि अन्तमा सफल नभएको स्वीकार्छन् । ‘उनीहरूको पारिवारिक किचलो थियो त्यो बेलामा मैले मिलाउन खोजेको थिए, तर उनीहरू मिलेनन्, अदालत गए । अहिले त्यो मुद्दाको अवस्थामा कस्तो छ मलाई थाहा छैन ।‘, मेयर कार्की भन्छन् ।
-शुरेश राउत