ढाका, बंगलादेश र माल्दिभ्सले द्विपक्षीय व्यापार र अन्य सिधा सम्पर्क बढाउन प्रत्यक्ष जलयातायातको सुरु गर्न वार्ता गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । बंगलादेशको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बंगलादेशी परराष्ट्रमन्त्री खलिलुर रहमान र उहाँका माल्दिभ्सकासमकक्षी इरुथिशाम आदमले आइतबार मालेमा भएको द्विपक्षीय बैठकमा यो विषयमा छलफल गरेका हुन् ।’
बैठकमा दुवै नेताले बसाइँसराइ र प्रवासी कल्याण, पर्यटन, शिक्षा, स्वास्थ्य, नीलो अर्थतन्त्र तथा समुद्री सम्पर्कमा सहकार्य बढाएर बंगलादेश–माल्दिभ्स सम्बन्ध थप मजबुत बनाउने उपायहरूबारे छलफल गरेका बताइएको छ ।
उनीहरूले प्रस्तावित प्रत्यक्ष जलयातायात सम्बन्धबारे विचार आदानप्रदान गरेका छन्, जसले दक्षिण एसियाली मुलुकहरूबीच द्विपक्षीय व्यापार र सम्पर्क सहज बनाउने अपेक्षा गरिएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्ध थप गहिरो बनाउने प्रयासको रूपमा उच्चस्तरीय भ्रमणको सम्भावनाबारे पनि छलफल गरेका बताइएको सिन्ह्वाले जनाएको छ ।