गिरिजा लिगेसीको देउवा कांग्रेसका एआई उत्तराधिकारहरू उताको नेपाली कांग्रेस इतिहासमा बीपी कोइराला, सी.के. प्रसाई, प्रदीप गिरिको नाम वैचारिक उचाइको शिखर उल्लेख छ । कांग्रेस इतिहासका यी तीन वैचारिक उचाइमध्ये प्रदीप गिरिको ६ भदौ ०८३ चौथो स्मृति दिवस श्राद्ध तिथि पर्दो रहेछ । प्रदीपजीको आखिरी सांसद जिम्मेवारीमा राज्यपक्षको स्वकीय सचिवमा रहेका महोत्तरी कांग्रेसका एक विचारशील नेतृत्व मन्दीप भारतीको संरक्षकत्वमा पर्सा (वीरगञ्ज) का प्रखर, जुझारु उदीयमान कांग्रेस नेतृत्व कञ्चन झाको अध्यक्षतामा प्रदीप गिरि नामको संस्था (पीजीआई) दर्ता गरेर प्रदीप गिरि विचार धारा विजारोपण, गोडमेल, विस्तारको एउटा अभियान विगत वर्षदेखि नै चलिरहेको रहेछ । त्यही अभियानको निरन्तरता स्वरुप यस पटक नेपाली कांग्रेस केन्द्रीय अफिसमा एउटा भव्य संज्ञा दिन मिल्ने प्रदीप गिरि चिन्तन र कर्ममा विचार विमर्श कार्यक्रम सम्पन्न भयो । जुन कार्यक्रमलाई गगन थापा, विश्वप्रकाश शर्मा आदिहरूले सम्बोधन गरेका थिए भने झुक्किएर म पनि सम्बोधन गर्न पुगेँ ।
झुक्किएर कांग्रेस अफिस पुगेँ भन्ने सन्दर्भ चाहिं के हो भने मन्दीप भारती प्रदीपजीका झण्डै एक वर्ष अस्पतालका आखिरी दिनहरूमा अहोरात्र सेवा सुसुश्रारत थिए । त्यही समयको वाक्य बस्नुअघिको एक क्षण मन्दीपलाई मुख अगाडि कान ल्याउन अर्हाएर भन्नु भएछ, ‘तिम्रो जीवन अझै धेरै लामो छ । खेती–किसान व्यापार उद्योग गर्यौ भने त्यसमा सिक्दै जाने आफैँ भइहाल्छ । यदि वैचारिक अध्ययन अनुसन्धान र राजनीतिक सक्रियतालाई नै निरन्तरता दिने आँट गर्यौ भने चाहिं रेवतीरमण सुवेदीसँग मार्गदर्शन लिने गर्नु । उहाँले कहिल्यै कसैलाई गलत सल्लाह दिनुहुन्न । गलत बाटो देखाउनुहुन्न । उहाँ धेरै ठूलो त्यागी, तपस्वी, ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ ।
कांग्रेस इतिहासका जिउँदा सहिद ।’ ‘तपाईँबारे प्रदीपजीले यसो भन्नुभएको छ’ भन्दै मन्दीप म कहाँ आइपुगे । ‘आरजुको ढाल’ बनेको भन्दै विगत ३/४ वर्षदेखि नै प्रदीपजी र मेराबीच ठाकठूक चलिरहेको थियो र प्रदीपजीका कोको स्वकीय सचिव, सहयोगी थिए वास्ता गरेको थिइँन । यस्तोमा मन्दीप ‘मार्गदर्शक गुरु बनिदिनु पर्यो’ भन्दै मकहाँ आइपुग्दा प्रदीपजीले नै सहयोगी पठाइदिनु भएको हो कि भन्ने पनि एउटा भावुक हर्ष रसायन भयो । उनैले ‘प्रदीपजीको चौथो स्मृति दिवसमा उहाँको कर्म र चिन्तन विषयक एउटा विमर्श कार्यक्रम गर्दैछौँ, दाइले पनि आएर बोलिदिनु पर्यो’ भनेपछि उनको आग्रहलाई इन्कार गर्न मलाई मिल्दैन थियो । कहिले ? भन्ने त तिथिमिति फिक्स थियो, कहाँ ? भन्ने मलाई थाहा दिइएन । ‘हामी लिन आउछौँ र पुर्याइदिन्छौँ’ भनेपछि ठाउँ सोधीरहने झन्झट गरिनँ । ठाउँ नेपाली कांग्रेसको केन्द्रीय अफिसभन्दा म नजाने मन्दीपलाई राम्रोसँग थाहा थियो । हुन पनि हो गिरिजा लिगेसीको देउवा कांग्रेसका ‘एआई’ उत्तराधिकारहरूको देश बेचेर जनता लुटेर जसरी भए पनि सत्तामा पुग्ने र सम्पत्ति थुपारेर मोजमस्ती गर्ने धन्दाको अखडा हुनबाट मुक्त नहुँदासम्म कांग्रेस अफिसमा पाइला नटेक्ने मेरो अठोट थियो । मेरो त्यो अठोट वाचा धर्मसंकटमा परेकोलाई नै मैले ‘झुक्किएर पाइला टेक्न पुगेँ’ भनेको हुँ । खैर यसरी पाइला टेकि नै सकेपछि बोल्दिनँ भन्न पनि मिलेन । मन्दीप भारती कञ्चन झाजस्ता नवजागरणले आलोकित हुँदै गरेका मलाई आदरभावले हेर्ने एउटा ठूलो जमातको त्यहाँ प्रतिनिधि उपस्थित थियो । बोल्नै पर्यो र बोलेँ ।
प्रदीपजीसँग मेरो पहिलो भेट विसं. २०२८ सालमा वनारसको सिटीहलमा बीपीको राजनीतिक लाइन र पुष्पलालको आर्थिक लाइनमा एक अर्काले आँखा चिम्लेर हस्ताक्षर गर्ने उद्देश्यले आयोजित संयुक्त भेलामा साक्षी पात्रको रूपमा भएको थियो । त्यस बखत उहाँ बीपी लाइनको विद्यार्थी सङ्गठन हेर्नुहुन्थ्यो भने म अभानेविसंघ वनारस शाखाको निर्वाचित समाजसेवा सचिव थिएँ । त्यस बखत उहाँको उमेर २५ वर्ष थियो भने मेरो उमेर १७ वर्ष । त्यस यताका विगत ५१ वर्ष जेल जानु आउनु हुँदै (उहाँ ४ वर्ष, म ७ वर्ष) हामी एक क्षण र एक निमेष पनि यताउती नभई राजनीतिक सहयात्री साथी रह्यौँ । एक आपसका सहयोगी घनिष्ठ अन्तरङ्ग मित्र रह्यौँ । प्रदीपजीको अध्ययनशीलता विज्ञताका विषयमा त बीपी, सी.के. प्रसाई, ऋषिकेश शाहलगायतका नेपालका सारा समकालिन विद्वान्हरू कायल हुनुहुन्थ्यो नै । पंक्तिकार स्वयंको पनि २५ वर्ष सक्रिय पत्रकारिता र दर्जन बढी नेपाली जनआन्दोलन, इतिहास, राजनीति विषयक पुस्तक लेखन आफ्नै एक अध्ययन पद्धति विकसित भएको हिसाबले प्रदीपजीका कर्म र चिन्तनबारे गहिरिएरै गहन अध्ययन गरेको छु । र ढुक्क र किटानका साथ के भन्न सक्ने अवस्थामा छु भने नेपाली कांग्रेसको इतिहासमा प्रदीपजीका विषयमा अझै ठीक पाठ्यक्रम अभिलेख हुन पाएको छैन, जुन प्रदीपजीका लागि मात्र नभएर नेपाली कांग्रेस इतिहासकै लागि दुर्भाग्यपूर्ण अध्याय हो ।
बीपीको सशस्त्र क्रान्ति ओखलढुङ्गा काण्डलगायत हिंसात्मक लाइनमा असहमति राखेकै कारण त्यस यताको नेपाली कांग्रेसको सम्पूर्ण सत्ता राजनीतिमा प्रदीपजीलाई बीपी विरोधी चिनारी थोपरेर मुलधारमा प्रवेश दिएनन् । ‘गिरिजाले बसी खान दिएनन्, देउवाको साथ नलागेर के गर्ने ?’ उहाँले धेरै पटक धेरै ठाउँमा विरह पोखेको मैले नै भेटेको छु । त्यति खेर नेपाली कांग्रेसको प्राधिकार जमातमा भारतीय दलाल दुतावासबाट संरक्षित भन्यो भने बरु इज्जत सम्मान धाकधक्कु हुन्थ्यो, तर बीपी विरोधी भन्यो भने गिरिजाको डरले गणेशमान, भट्टराईसमेत सङ्गत दिन तर्सनु पर्दथ्यो । मेरो प्रदीपजीसँग नियमित उठबस थाहा पाएर शेरबहादुर, रामचन्द्र, चिरञ्जीवि वाग्लेलगायतको एउटा टोली किशुनजी (पार्टी अध्यक्ष) समक्ष सिकायत लिएर पुगेका ‘मोराहरू (किशुनजीको थेगो) तिम्रो विरोध गर्न आएका थिए’ किशुनजीले भन्नुभएको अझै मेरा स्मृतिमा ताजै छ । कालक्रममा प्रदीपजी र देउवाबीच बोलचाल बन्द हुँदा त्यो बोली फुटाउने काम मबाट हुन पुगेको लामो विवरण यहाँ दोहोर्याइँन । मूल कुरो चुरो कुरो प्रदीपजीको कर्म र चिन्तनको ठीक मुल्यांकन हुनका लागि उहाँ बीपी विरोधी कदापि हुनुहुन्न थियो । हो, बीपीका केही राजनीतिक लाइनमा उहाँको विमति थियो जुन विमतिलाई स्वयं बीपीले भने उच्च मूल्यांकन गरेर आफू बाँचुञ्जेल यथेष्ठ सहयात्रा दिनु भएको पंक्तिकार स्वयं प्रत्यक्ष साक्षी रहेको छ ।
बीपी लाइनसँग प्रदीपजीको विमति छर्लङ्ग हुन नेपाली कांग्रेसको जन्मसम्म पुग्नुपर्छ । भारतबाट अङ्ग्रेज लखेटिएपछि त्यसको टेकोमा अडेको नेपालको राणासत्ता ढल्ने पक्का थियो । तर ‘मकैको खेती कसरी गर्ने’ सिकाउने ‘मकैको खेती’ पुस्तक प्रकाशन गरेवापत रामेछापका कृष्णलाल अधिकारीले जेलमा सडेर मर्नुपरेको शिक्षामाथिको घनघोर अन्धकार नेपाली चेतनामा त्यस खालको जागरण टुसाएको थिएन । भारतीय स्वतन्त्रता सङ्ग्रामका महात्मा गान्धी पछि जवाहरलाल नेहरू, वल्लभभाइ पटेल, जयप्रकाश नारायणभन्दा पनि वैचारिक उचाइमा अग्ला नायक डा. राममनोहर लोहियाले नेपालको यो पछौटे चेतना प्रष्ट देख्नुभयो । नेपाललाई हेर्ने लोहियाको दृष्टिकोण गान्धी, नेहरू, पटेल आदि इत्यादि भारतका अन्य नेताहरूको भन्दा फरक थियो । भारतको भूगोल र जनसङ्ख्या विशाल छ । समाजवादी क्रान्ति प्रयोग र सफल हुन सदियौँ लाग्न सक्छ । त्यसको तुलनामा नेपाल धेरै सानो र जनसङ्ख्या पनि धेरै थोरै छन् । ठीक ढङ्गले काम हुन सक्यो भने १०/१५ वर्षमै नेपालमा समाजवादी क्रान्ति प्रयोग सफल हुन सक्छ ।
नेपालको त्यो उदाहरण देखाएर भारतमा समाजवादी क्रान्ति उठाउने लोहियाको अन्तर्य ध्येय रहेको हुनाले उहाँको ध्यान नेपालमा जनक्रान्ति उठाउनतर्फ केन्द्रीत भयो । त्यसका लागि विभिन्न कारणले अध्ययनका लागि पनि भारत पुगेका नेपाली युवाहरूमाझ सिला खोज्न थाल्नुभयो । त्यस क्रममा महेन्द्रनारायण निधि, विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, रामहरी जोशी आदि इत्यादि जस्ता युवाहरू भेट्नुभयो । नेपालमा राणासत्ता ढाल्न सङ्गठन आवश्यक भएको आफैँले बीपीको नाम वक्तव्य (आह्वान) तयार गरेर त्यहाँको राष्ट्रिय अखवारमा समाचार छपाइदिनुभयो । एउटा पार्टी स्थापना र सञ्चालनका लागि आवश्यक पर्ने नीति, सिद्धान्त, घोषणापत्र विधि विधान सबै आफैँले गाइड गरेर तयार गर्न लगाउनुभयो । यसरी नेपाली कांग्रेसको जन्म हुन डा. लोहियाको स्तुत्य योगदान रह्यो ।
क्रान्ति सुरु हुनुभन्दा तीन चार महिनाअघि डा. लोहियाले बीपीलाई भन्नुभयो, ‘अब नेपालमा राणासत्ता ढलेर तपाईँहरू (बीपी) राज्यसत्तामा आउनुहुन्छ । नेपालमा समाजवादी क्रान्ति सफल तुल्याउन अरू केही गर्नै पर्दैन । नेपालका ९५% परिवार भूमिहीन छन् । सारा किसान वर्गलाई राणासत्ताले कमारा कमारी बनाएर शोषण, दमन, अत्याचारको सीमा नाघेको छ । क्रान्ति लगत्तै पछि क्रान्तिको रापताप सेलाउन नपाउँदै क्याबिनेटको पहिलो निर्णयबाट ‘जसको जोत उसको पोत’ घोषणा गरिदिने हो भने दुनियाँले (साम्राज्यवादी शक्ति) सुइँको समेत नपाइ नेपालमा समाजवादी क्रान्ति सम्पन्न हुनेछ । तर संविधान ल्याएर कानुन बनाएर काम गर्छु भन्ने तिर लागियो भने जमिन्दारहरू पार्लियामेन्टमा पुगेर हुन दिँदैनन्’ लोहियाको यो सल्लाह बीपीलाई त्यतिखेर गला लाग्यो, जतिखेर प्रधानमन्त्री भएर भूमिसुधारसम्बन्धी बिल ल्याउन खोज्दा कांग्रेसकै सांसदबाट अवरोध उत्पन्न भएर सरकार जोगाउन गोरखा परिषद्का १८ र कम्युनिस्टका ४ सांसद देखाउनु परेको थियो ।
८ वर्ष जेल र ८ वर्ष निर्वासन झेलिसकेपछि आएको ‘आत्मवृत्तान्त’ (सम्पादक गणेशराज शर्मा) मा लोहियाको सल्लाह नमानेको गला लागेको विरहव्यथा विदृण शैलीमा पछुतो गर्नुभएको छ । त्यस बखत बीपी लोहियाको सल्लाहमा हिँडेको भए आज हामी भारतका लागि सुखी र सम्पन्नताको उदाहरण प्रस्तुत गरिरहेका हुन्थ्यौँ । नेहरूको सत्ता चमकदमकको बाटो हिँड्दा आज ८३ प्रतिशत बिहान बेलुकाको छाक टार्न विदेश (आयात) निर्भर भएर ३० खर्ब वैदेशिक ऋणको ब्याज तिर्न पनि विदेश नै गुहार्नु पर्ने कम्प्लीटली ‘ब्ल्याक लिस्ट’ मा पुगेका छौँ । सार्वभौमिकता र स्वाभिमान त गणेशमानजीको भाषामा ‘आईसीयूमा घिटीघिटी’ अवस्थामा पुगेको छ ।
अन्त्यमा बीपी र प्रदीप गिरिबीचको विमतिको यो चुरो कुरो नबुझी या बुझेर पनि नबुझे जस्तो गरेर ‘प्रदीप गिरि नामको अभियान’ चलाइन्छ भने त्यो देउवा–आरजुको बीपी नाम भजन भन्दा एक रौँ भर पनि फरक नहुने किटेर भन्न सक्छु । अस्तु ।