काठमाडौं, भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मुक्तिनाथ विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
२०८३ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने देश तथा विदेशमा रहेका नेपालीसमेत यस विपत्तिबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौं नागरिक प्रभावित भएको कठिन परिस्थितिमा पीडितको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ ।
विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।