प्रकृतिमा जुन वस्तु जीवनका लागि अत्यावश्यक हुन्छ, जसको आवश्यकता सबैभन्दा बढी हुन्छ, त्यही वस्तु कहिलेकाहीँ विनाशको कारण पनि बन्न पुग्छ । पानीविना जीवन सम्भव छैन, तर त्यही पानी बाढी बनेर आउँदा बस्ती, खेती, सडक, पुल र मानव जीवन नै तहसनहस पार्न सक्छ । आगोविना मानव जीवन सहज रूपमा चल्न कठिन हुन्छ, तर त्यही आगो डढेलो बनेर फैलिँदा जंगल, बस्ती, जीवजन्तु र मानिसलाई खरानी बनाउन सक्छ । हावा हाम्रो जीवनको आधार हो; हावाविना केही क्षण पनि बाँच्न सम्भव हुँदैन, तर त्यही हावा आँधी–हुरी र शक्तिशाली बतास बनेर ठूलो जनधनको क्षति गर्न सक्छ । माटोले हामीलाई अन्न दिन्छ, प्रकृतिले जीवन धान्ने आधार दिन्छ, तर त्यही माटो पहिरो बनेर बग्दा घर, बाटो, खेतबारी र बस्ती नै पुरिन सक्छ ।
यसबाट एउटा महत्वपूर्ण कुरा बुझ्न सकिन्छ—प्रकृतिका शक्तिहरूलाई पूर्ण रूपमा रोक्न सकिँदैन । जसको आवश्यकता जीवनका लागि सबैभन्दा बढी हुन्छ, त्यही प्राकृतिक शक्ति कहिलेकाहीँ मानव जीवनका लागि ठूलो चुनौती बनेर आउन सक्छ । त्यसैले प्राकृतिक विपद्लाई रोक्न नसके पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । विपद् आउनुअघि नै जोखिम पहिचान गर्ने, पूर्वतयारी गर्ने, आवश्यक सावधानी अपनाउने र विपद् आइसकेपछि संयमित भएर उद्धार तथा सुरक्षाका उपाय अवलम्बन गर्ने काम नै बुद्धिमानी हो ।
प्राकृतिक विपद् र संरचनाको विध्वंस
संसारको विकास र विनाश एकअर्कासँग जोडिएका छन् । विनाशपछि विकासको आवश्यकता पैदा हुन्छ र विकासका क्रममा पनि कहिलेकाहीँ विनाश निम्तिन सक्छ । त्यसैले प्रकृतिमा निरन्तर परिवर्तन भइरहन्छ । पृथ्वीको भौगोलिक संरचना, मौसम, जलवायु तथा प्राकृतिक प्रक्रियामा हुने परिवर्तनका कारण विभिन्न प्रकारका विपद् उत्पन्न हुन्छन् ।
ज्वालामुखी विस्फोट हुनु, बाढी आउनु, हिमपहिरो जानु, भूकम्प आउनु, अतिवृष्टि हुनु, आँधी–हुरी आउनु, समुद्री छाल वा सुनामी आउनु, जंगलमा डढेलो लाग्नु, पहिरो जानु आदि प्राकृतिक विपद््का उदाहरण हुन् । यस्ता घटनाले मानव जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो असर पार्छन् । मानिसहरू घरबारविहीन हुन्छन्, रोजगारी गुमाउँछन्, कृषि उत्पादन नष्ट हुन्छ, सडक तथा पुल भत्किन्छन्, ऊर्जा केन्द्रहरू नष्ट हुन्छन् र राज्यको ठूलो आर्थिक स्रोत पुनर्निर्माणमा खर्च गर्नुपर्ने अवस्था आउँछ ।
प्राकृतिक विपद् आउँदा सबैभन्दा पहिले मानिसमा डर र त्रास उत्पन्न हुन्छ । कतिपय अवस्थामा डराएर भागदौड गर्नु वा विपद्को समयमा जोखिमपूर्ण गतिविधि गर्नु झन् खतरनाक हुन सक्छ । तर कतिपय अवस्थामा तत्काल सुरक्षित स्थानतर्फ दौडेर जान सके जीवन बचाउन सकिन्छ । त्यसैले कुन अवस्थामा के गर्ने भन्नेबारे सही जानकारी हुनु अत्यन्त आवश्यक छ । मानिसले हरेक विपद््लाई एउटै तरिकाले सामना गर्न सक्दैन । कहिलेकाहीँ विपद््लाई रोक्न वा जित्न सकिँदैन, तर आफ्नो संयमता र सही निर्णयबाट जीवन बचाउन भने सकिन्छ ।
त्यसैले विपद्को समयमा संयमित हुनु, अफवाह नफैलाउनु, सही सूचना लिनु र दिनु तथा व्यक्तिगत फाइदाभन्दा सामूहिक सुरक्षालाई प्राथमिकता दिनु आवश्यक हुन्छ ।
हालसालै देखिएका बाढी तथा विपद्को घटनाबाट सिक्नुपर्ने कुरा
हालै भोटेकोशी खोला हुँदै त्रिशूली नदी प्रणालीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठूलो क्षति भएको छ भने रसुवा र नुवाकोटमा अत्यन्त ठूलो मात्रामा विनाश भएको अवस्था देखिएको छ । धेरै मानिस घरबारविहीन भएका छन्, कतिपय मानिस बेपत्ता भएका छन् र धेरैले ज्यान गुमाएका छन् । हरिया फाँटहरू बगरमा परिणत भएका छन् । पुल, सडक, बाटोघाटो तथा अन्य भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको छ । बस्तीहरू उजाड भएका छन् । जलविद्युत् आयोजनाहरू, सरकारी कार्यालय, होटल तथा अन्य संरचनासमेत प्रभावित भएका छन् ।
यस्ता घटनाले हामीलाई प्राकृतिक विपद््लाई सामान्य रूपमा लिनु हुँदैन भन्ने पाठ सिकाउँछ । विपद् आएपछि मात्र तयारी गर्ने होइन, विपद् आउनुअघि नै जोखिमको पहिचान र व्यवस्थापन गर्नुपर्छ ।
विपद् आइसकेपछि पनि केही मानिसहरू बाढीले बगाएर ल्याएका दाउरा, माछा, ग्यास तथा अन्य सामान खोज्न नदीतर्फ जाने गरेको देखिन्छ । यस्तो व्यवहार अत्यन्त जोखिमपूर्ण छ । नदीको बहाव कम भएको जस्तो देखिए पनि माथिल्लो क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्छ, पहिरो जान सक्छ वा थप बाढी आउन सक्छ । त्यसैले बाढीको समयमा बगेर आएका सामान संकलन गर्न नदीको किनार वा जोखिमपूर्ण क्षेत्रमा जानु हुँदैन । दलदलमा फस्न सकिन्छ, अचानक आएको पानीले बगाउन सक्छ र सामान्य देखिएको स्थान पनि क्षणभरमै जोखिमपूर्ण बन्न सक्छ । अझ लाजमर्दो कुरा त, मृतकका शव वा लासबाट सुन तथा अन्य बहुमूल्य सामान खोज्ने जस्ता अमानवीय र गैरकानुनी गतिविधिसमेत गरेको देखिएकाले यस्ता कार्य कदापि गर्नु हुँदैन । विपद्मा ज्यान गुमाएका व्यक्तिप्रति सम्मान र मानवीय संवेदना राख्नुपर्नेमा अरूको दुःख र मृत्युमा अवसर खोज्नु क्रूर र अमानवीय कार्य हो ।
जीवनभन्दा ठूलो कुनै सामान हुँदैन । बाढीले बगाएर ल्याएको एउटा दाउरा, साना–साना सामान, केही माछा, ग्यास सिलिन्डर वा अन्य वस्तु प्राप्त गर्ने लोभमा आफ्नो जीवन गुमाउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले यस्तो अवस्थामा लोभ त्यागेर आफ्नो र परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ ।
राज्यतर्फको दायित्व
यस्ता ठूला प्राकृतिक विपद्मा जोखिमको अवस्था हेरेर राज्यले तुरुन्तै प्रभावकारी रूपमा कदम चाल्नुपर्छ । राज्य नै नागरिकको अभिभावक हो । प्राकृतिक विपद्को समयमा राज्यको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । विशेषगरी सुरक्षा निकायको भूमिका अझ महत्वपूर्ण हुन्छ ।
विपद् आउनुअघि तयारी, विपद्को जानकारी, विपद््को समयमा उद्धार तथा राहत र विपद््पछि पुनस्र्थापना तथा पुनर्निर्माणका लागि राज्यले स्पष्ट योजना तयार गर्नुपर्छ ।
१. द्रुत उद्धार तथा प्रतिक्रिया टोली तयार राख्ने
नेपाल सरकारले सम्भावित विपद् हुने क्षेत्रमा तत्काल परिचालन गर्न सकिने त्तगष्अप च्भकउयलकभ त्भबm तयार राख्नुपर्छ । सुरक्षा टोलीलाई आवश्यक उपकरण, तालिम र सञ्चार सुविधासहित तयारी अवस्थामा राखी विपद् प्रभावित क्षेत्रमा तुरुन्त परिचालन गर्नुपर्छ । आवश्यक परेको अवस्थामा नागरिकहरूले पनि उद्धार तथा राहत कार्यमा हातेमालो गर्नुपर्छ ।
२. अत्यावश्यक सामग्रीको भण्डारण गर्ने
लत्ताकपडा, खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, प्राथमिक उपचारका सामग्री, टर्च, कम्बल, पाललगायतका आवश्यक सामग्री पर्याप्त मात्रामा सुरक्षित स्थानमा भण्डारण गर्नुपर्छ । विपद्को समयमा पहिलो प्राथमिकता जीवन जोगाउने, त्यसपछि सम्भव भएसम्म सम्पत्ति तथा भौतिक संरचना जोगाउने हुनुपर्छ ।
३. स्वास्थ्य तथा उद्धार सेवा तयारी अवस्थामा राख्ने
एम्बुलेन्स, चिकित्सक, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा आवश्यकताअनुसार हेलिकोप्टर तत्काल परिचालन गर्न सकिने अवस्थामा राख्नुपर्छ । हाल नेपाली सेनालगायतका सुरक्षा निकाय तथा निजी हेलिकोप्टरहरूले समेत उद्धार तथा राहतमा सेवा पु¥याइरहेका छन् । यस्ता सेवाहरूलाई अझ प्रभावकारी, व्यवस्थित र द्रुत बनाउन आवश्यक छ ।
४. अस्थायी आश्रयस्थलको व्यवस्था गर्ने
हालको जस्तो विपद्को अवस्थामा धेरै मानिस घरबारविहीन हुन सक्छन् । त्यसैले घरबारविहीन भएका नागरिकलाई तत्काल सुरक्षित रूपमा राख्न सकिने अस्थायी आश्रयस्थल पहिल्यै पहिचान गरी तयारी अवस्थामा राख्नुपर्छ ।
५. उच्च सतर्कतामा रहने
दशा बजाएर आउँदैन भनेजस्तै प्राकृतिक विपद्् पनि सधैँ पूर्वसूचना दिएर मात्र आउँदैन । त्यसैले मौसम पूर्वानुमान, नदीको पानीको सतह, वर्षाको मात्रा, पहिरोको सम्भावना तथा अन्य जोखिमका आधारमा सम्बन्धित निकायले ज्ष्नज ब्भिचत मा रहेर निरन्तर निगरानी गर्नुपर्छ ।
६. जोखिमयुक्त क्षेत्रमा बस्ती बस्न नदिने
नदीको तटीय क्षेत्र, पहिरोको उच्च जोखिम भएका ठाउँ, खोलाको प्राकृतिक बहाव क्षेत्र तथा अन्य जोखिमयुक्त क्षेत्रमा अनियन्त्रित रूपमा बस्ती विस्तार गर्न दिनु हुँदैन । जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने दीर्घकालीन नीति पनि आवश्यक छ ।
७. जोखिमको वैज्ञानिक अध्ययन गर्ने
कुन क्षेत्रमा बाढीको जोखिम छ, कहाँ पहिरो जान सक्छ, कुन बस्ती भूकम्प वा अन्य प्राकृतिक विपद््को जोखिममा छ भन्ने विषयमा वैज्ञानिक अध्ययन गरी जोखिमको नक्सांकन गर्नुपर्छ । यस्तो अध्ययनका आधारमा स्थानीय तहदेखि संघीय तहसम्म विपद् व्यवस्थापनको योजना बनाउनुपर्छ ।
८. प्रकृति संरक्षणमा जोड दिने
वन विनाश, अव्यवस्थित सडक निर्माण, नदी तथा खोलाको प्राकृतिक बहावमा अवरोध र वातावरणको अनियन्त्रित दोहनले विपद््को जोखिम बढाउन सक्छ । त्यसैले वन, नदी, जलाधार तथा वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्छ ।
९. विपद् आउनुअघि नै पूर्वतयारी गर्ने
विपद् आएपछि राहत बाँड्नु मात्र पर्याप्त हुँदैन । विपद् आउनुअघि नै पूर्वसूचना प्रणाली, उद्धार योजना, सुरक्षित स्थान, आपत्कालीन सम्पर्क प्रणाली र जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । विद्यालय, समुदाय, स्थानीय तह तथा सुरक्षा निकायबीच नियमित अभ्यास र समन्वय हुनुपर्छ ।
नागरिकको दायित्व
प्राकृतिक विपद््को समयमा राज्यको नागरिकलाई राहत दिने र सुरक्षा गर्ने दायित्व हुन्छ । तर राज्यको मात्र कर्तव्य हो भनेर बसेर हुँदैन । नागरिकको पनि महत्वपूर्ण जिम्मेवारी हुन्छ ।
१. जोखिमयुक्त क्षेत्रमा जानीजानी नबस्ने
बाढी, पहिरो, नदी कटान वा अन्य प्राकृतिक विपद््को उच्च जोखिम भएको ठाउँमा घर बनाएर बस्ने वा जोखिमलाई सामान्य ठान्ने काम गर्नु हुँदैन ।
२. राज्यका नियम तथा सुरक्षा निर्देशन पालना गर्ने
सम्बन्धित निकायले जोखिमका कारण सुरक्षित स्थानमा जान निर्देशन दिएको अवस्थामा त्यसलाई बेवास्ता गर्नु हुँदैन । सरकारी सुरक्षा निर्देशन नागरिकको सुरक्षाकै लागि हुन्छ ।
३. तटीय तथा जोखिमयुक्त क्षेत्रबाट टाढा रहने
बाढी आएको समयमा नदी, खोला, पुल, तटीय क्षेत्र तथा पहिरोको जोखिम भएका ठाउँमा जानु हुँदैन । सम्भावित जोखिम देखिएमा सुरक्षित वैकल्पिक स्थान खोज्नुपर्छ ।
४. लोभ नगर्ने र अनावश्यक जोखिम नमोल्ने
विपद्को समयमा बाढीले बगाएर ल्याएका सामान, दाउरा, माछा, ग्यास वा अन्य वस्तु संकलन गर्न नदी तथा खोलातर्फ जानु हुँदैन । केही सामान प्राप्त गर्ने लोभमा आफ्नो जीवन जोखिममा पार्नु मूर्खता हो ।
५. अफवाह नफैलाउने
विपद्को समयमा गलत सूचना र अफवाहले मानिसमा थप त्रास उत्पन्न गर्न सक्छ । त्यसैले आधिकारिक स्रोतबाट प्राप्त सही सूचना मात्र अरूलाई जानकारी गराउनुपर्छ ।
६. अरूलाई पनि सुरक्षित रहन सहयोग गर्ने
आफू सुरक्षित भएपछि बालबालिका, वृद्धवृद्धा, अशक्त तथा समस्यामा परेका व्यक्तिलाई सुरक्षित स्थानमा पु¥याउन सहयोग गर्नुपर्छ । विपद््को समयमा मानवीय सहयोग र सहकार्य अत्यन्त आवश्यक हुन्छ ।
अन्त्यमा भन्नुपर्दा
प्राकृतिक विपद् प्रकृतिको एउटा प्रक्रिया हो । यसलाई मानिसले पूर्ण रूपमा रोक्न सक्दैन । तर विपद््बाट हुने जनधनको क्षति भने पूर्वतयारी, सचेतना, वैज्ञानिक अध्ययन, सुरक्षित बस्ती विकास, प्रभावकारी उद्धार प्रणाली र नागरिकको संयमबाट धेरै हदसम्म कम गर्न सकिन्छ ।
हामीले प्रकृतिलाई जित्ने होइन, प्रकृतिसँग सन्तुलित भएर बाँच्न सिक्नुपर्छ । विपद् आउँदा आत्तिनु हुँदैन, जोखिमपूर्ण काम गर्नु हुँदैन र अरूको जीवनसमेत जोखिममा पार्ने गतिविधि गर्नु हुँदैन । बाढी आउँदा नदीतर्फ होइन, सुरक्षित स्थानतर्फ जानुपर्छ । आगो लागेमा सुरक्षित स्थानमा सर्नुपर्छ । पहिरोको जोखिममा तमासा हेर्न होइन, सुरक्षित रहनुपर्छ । पहिले सुरक्षा अपनाउनुपर्छ । भावितव्यबाट बच्ने प्रयास गरौँ, विनाशबाट बच्ने प्रयास गरौँ र संयमता अपनाऔँ । जस्तोसुकै अवस्था आए पनि पहिला जीवन बचाऔँ ।
सक्नेले सहयोग गरौँ, नचाहिने अफवाह र अरूलाई पीडा दिने थप समाचार नबनाऔँ । यही मौका पारेर चोरी, लुटपाट वा अरूको दुःखको फाइदा उठाउने काम नगरौँ । संयमित बनौँ र भविष्यमा आइपर्न सक्ने यस्ता विपत्तिका लागि पनि तयार रहौँ ।
आज हजारौँ मानिसको अवस्था अज्ञात छ । हरिया फाँटहरू बगर भएका छन् । हजारौँ घर खण्डहर भएका छन् । यस्तो अवस्थामा मानवीय धर्म निभाउँदै सक्दो सहयोग गरौँ । आफूसँग जे छ, त्यहीबाट सहयोग गरौँ—खाना, पानी, आश्रयस्थल, लत्ताकपडा वा नगद सहयोग गर्न सकिन्छ । नगद सहयोग गर्दा सम्बन्धित तथा आधिकारिक दैवी प्रकोप उद्धार कोष वा सरकारबाट तोकिएका आधिकारिक खातामार्फत सहयोग गरौँ ।
विपद् पीडित परिवारलाई यस कठिन घडीमा धैर्यधारण गर्ने शक्ति भगवान्ले प्रदान गरून् । ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछौँ ।
टुटेका मनहरू जोडिऊन्, भत्किएका घरहरू फेरि बनून्, उजाडिएका बस्तीहरू फेरि बसून् र हामी सबै मिलेर फेरि उठ्न सकौँ ।
यही विपद्को घडीमा सबै नेपालीमा ऐतिहासिक एकबद्धता, मानवीयता, सहयोग, संयमता र सहकार्य कायम रहोस् । अझै पनि जोखिम कायमै रहेको समाचारहरू आइरहेकाले हामी सबैले थप सतर्क र सचेत रहन आवश्यक छ । सावधानी अपनाऔँ, संयमता
अपनाऔँ र विपद्मा परेकाहरूलाई सक्दो सहयोग गरौँ ।