काठमाडौं । भारतको कोलकात्ताबाट विराटनगर कार्गो रेलमार्फत ढुवानी गरिएको औद्योगिक कच्चा पदार्थ बोकेको रेल एकीकृत जाँच चौकी आईसीपी विराटनगर भन्सारमा आइपुगेको छ । सोमबार विराटनगर आइपुगेको कार्गो रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी एवं उद्यमीहरूले स्वागत गरेका छन् । योसंगै नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगर–१८ बुधनगर भेडियारीस्थित नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रिया संचालनमा आएको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा संचालित स्वस्तिक आयलले खानेतेल उत्पादनका लागि आयात गरेको औद्योगिक कच्चा पदार्थ उक्त रेलमार्फत ल्याएको हो । गत साउन १ गतेका दिन कोलकत्ता बन्दरगाहदेखि विराटनगरका लागि हिडेको कार्गो रेल सोमबार विराटनगर भन्सार आइपुगेको हो । उक्त कार्गो रेलमा ४० कन्टेनर खानेतेल उत्पादन गर्ने दाना रहेको विराटनगर भन्सार कार्यालयका भन्सार प्रमुख श्रेष्ठले जानकारी दिए ।
कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले शुक्रबार संयुक्त रूपमा उक्त कार्गो रेलको बिदाइ गरेका थिए । विराटनगर आइपुगेको उक्त रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आउँदा एकैपटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू रेलमार्फत सिधै विराटनगर भन्सारमा पठाउन सक्ने कुुरा नेपाली वाणिज्य दूतावास कोलकत्ताद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको थियो । सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो र न्यून लागत हुनुका साथै करिब २४ घण्टाको समय अवधिमा विराटनगर पुग्ने भएकाले यसबाट आयात सहज हुनेछ । विगतमा वीरगञ्जमा मात्र उपलब्ध यस्तो रेल कार्गो सुविधा अब विराटनगरमा समेत सञ्चालनमा आएपछि व्यावसायिक ढुवानी गर्ने बाटो खुलेको हो ।
यो व्यवस्थाबाट अब बन्दरगाहमा नेपाली आयातकर्ताले व्यहोर्नुपर्ने विलम्ब शुल्क, कन्टेनर डिटेन्सन चार्ज र सडक ढुवानीको अतिरिक्त भार कम भई पारवहन लागतमा उल्लेखनीय न्यूनीकरण हुनेछ । यसले व्यापार सहजीकरणमा मद्दत पुग्नुका साथै नेपाली उद्योगहरूको प्रतिस्पर्धी क्षमता बलियो बनाउने अपेक्षा उद्योगी एवं व्यवसायीको छ । यसअघि विराटनगरमा कार्गो रेल २०८० जेठ १८ गते एक दिन मात्रै आएको थियो ।