काठमाडौं, नेपाल इन्जिनियरिङ कलेजले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १० लाख दुई हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो सहयोग गरेको हो । विपद्को कठिन समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै कलेजले प्राध्यापक, कर्मचारी तथा कलेजको आफ्नै तर्फबाट संकलित रकम कोषमा हस्तान्तरण गरेको हो । कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारी नेतृत्वको टोलीले अर्थ मन्त्रालयमै पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेको जनाएको छ ।
भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा प्रभावित परिवारहरूलाई तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना आवश्यक रहेको अवस्थामा कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ । कलेजका अनुसार उक्त सहयोग रकम प्राध्यापक तथा कर्मचारीको योगदानसँगै कलेजको तर्फबाट थप सहयोग जुटाएर संकलन गरिएको हो । विपद्मा राज्य तथा सम्बन्धित निकायले सञ्चालन गर्ने राहत, उद्धार र पुनर्स्थापना अभियानलाई सहयोग पुग्ने विश्वासका साथ रकम प्रदान गरिएको बताइएको छ । कलेजले सबै पक्ष एकजुट भएर विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना र सामान्य जनजीवनमा फर्काउन सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।