काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनपछि सर्वोच्चमा आगलागी भएको यो तेस्रो घटना हो। सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा आज आगलागी हुँदा कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ। आगलागीको सूचना पाएलगत्तै प्रहरी र दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक अनुसन्धानमा आगलागी विद्युत् सर्ट सर्किटका कारण भएको पाइएको बताइएको छ। यद्यपि, आगलागीको वास्तविक कारण र घटनामा अन्य कुनै कारण वा संलग्नता रहेको/नरहेको विषयमा थप अनुसन्धान भइरहेको छ।
नयाँ भवनमा छोटो समयमै आगलागी भएको यो दोस्रो घटना हो। यसअघि भदौ १७ गते राति सोही भवनको अभिलेख शाखामा आगलागी भएको थियो। जेनजी आन्दोलनपछि सर्वोच्च अदालतमा तीनपटक आगलागी हुनु र पछिल्ला घटनामा मुद्दा तथा अभिलेखसँग सम्बन्धित फाँटमा क्षति पुग्नुले घटनामाथि गम्भीर अनुसन्धानको आवश्यकता देखिएको छ।