बर्दिया, भोटेकोशी बाढीले बर्दिया बाँसगढी नगरपालिका–८, लक्ष्मणाका सोमनाथ पौडेलको परिवारको सर्वस्व सकिएको छ । बाढीमा परी पौडेल परिवारका चार जना सदस्य सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात परेको छ ।
नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा इलेक्ट्रिकल इन्जिनियर पदमा कार्यरत सोमनाथसँगै उनकी पत्नी तारा उपाध्याय र २८ महिनाका जुम्ल्याहा छोराछोरी शिवान्स र तिसिया सम्पर्कविहीन भएका हुन् ।
छोरा, बुहारी र नातिनातिना सम्पर्कविहीन भएपछि पौडेल परिवारमा ठूलो बज्रपात परेको छ । दिनरात उनीहरूको पर्खाइमा रहेका बुबा उमानाथ उपाध्यायले आँसु झार्दै रासससँग भने, “छोरा, बुहारी र नातिनातिना बाढीमा सम्पर्कविहीन भएपछि परिवारमा ठूलो बज्रपात परेको छ । हामी रातदिन छोराबुहारी र नाति नातिनाकै पर्खाइमा छौँ, तर कतैबाट पनि केही जानकारी प्राप्त हुन सकेको छैन ।”
सम्पर्कविहीन सन्तानलाई सम्झिँदै पौडेल परिवारका सदस्य रातदिन पीडामा छन् । नाति नातिनालाई खेलाएको सम्झिँदै आमा लक्ष्मी उपाध्याय रातदिन विलाप गर्ने गरेको उमानाथले बताए । उनले भने, “बाढीले छोराको वंश मात्रै खोसेर लगेन, यो बुढेसकालको सहारा पनि खोसेर लग्यो । हामी आमाबुवालाई सहनै नसक्ने गरी पीडा दिएर गएको छ ।”
सम्पर्कविहीन छोरा सोमनाथलाई बुबा उमानाथले दुःख गरेर भारतको चेन्नईस्थित अन्न विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ पढाएका थिए । छोरालाई पढाउन गरेको दुःख सम्झिँदै उनले भने, “आफूले खाइनखाई छोरालाई इन्जिनियर पढाएँ । यो बुढेसकालमा छोराको सहारा लिने बेलामा हामीलाई नै सहाराविहीन बनाएर गयो ।”
सोमनाथ विगत नौ वर्षदेखि त्रिशूली–३ ‘बी’ आयोजनामा कार्यरत थिए । छोराछोरी सानै भएकाले उनी परिवारसहित नुवाकोट बस्दै आएका थिए । भाइ, बुहारी र भतिजाभतिजीको खोजीमा घटनास्थल नुवाकोट पुगेका सोमनाथका दाजु तुलसीराम पौडेलले आफू दुईपटक नुवाकोट पुगे पनि उनीहरूको अवस्था पत्ता लाग्न नसकेको बताए ।
“भाइ र बुहारीको खोजीमा दुई पटक नुवाकोट गएँ । सात दिन बसेँ, तर कतै पनि पत्ता लागेन । भाइसँगै काम गर्ने पाँच जनासँग भेटेँ । कसैले बाढी आउनुभन्दा दुई मिनेट अघिसम्म भाइसँगै रहेको बताए भने कसैले पावर हाउसको कार्यालयभित्र छिरिसकेको अवस्थामा देखेको बताए,” उनले भने ।
छोराको पहिचानका लागि बुबा उमानाथले यही भदौ २१ गते जिल्ला अस्पताल गुलरियामा ‘डिएनए’ परीक्षणका लागि रगतको नमूना दिएका छन् । बुहारीको डिएनए परीक्षणका लागि ससुरा चन्द्रमणि उपाध्यायले पनि रगतको नमूना दिएका छन् तर डिएनए परीक्षणको रिपोर्ट भने अझै आइसकेको छैन ।
कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका सोमनाथ जस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताए । उनका अनुसार बाँसगढी नगरपालिकाका मात्रै १२ जना सम्पर्कविहीन छन् भने ५३ जना घर फर्किसकेका छन् ।