काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–७ बस्ने ४५ वर्षीय गंगा बहादुर कटुवाल र काठमाडौं बस्ने सर्लाही हरिवन नगरपालिका–२ घर भएका ३८ वर्षीय हेम बहादुर बोम्जन रहेका छन् ।
पक्राउमध्ये गंगा बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र हेम बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गंगा बहादुरलाई काठमाडौं महानगरपालिका–१२ बाट र हेम बहादुरलाई काठमाडौं महानगरपालिका–२८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।