काठमाडौं, यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग गर्ने घोषणा गरिएको छ ।
बाढी पश्चात उत्पन्न कठिन परिस्थितिबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापना प्रयोजनको लागि कर्मचारीहरुको तर्फबाट एक दिनको तलब तथा भत्ता बराबरको रकम १६ लाख २० हजार ५५० रुपैयाँ र बैंकको तर्फबाट नगद ३४ लाख ९० हजार ५६१ रुपैयाँसमेत जम्मा रकम ५१ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ ।
साथै, विकास बैंकले प्रभावित क्षेत्रको शिक्षा, स्वास्थ्य तथा नागरिकको पुनःस्थापनासम्बन्धी कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट स्थानीय निकायसँगको समन्वयमा थप ५० लाख बराबरको प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
गरिमा विकास बैंक लिमिटेडले यस अकल्पनीय प्राकृतिक विपद्मा परी ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गर्दै यस विपद्को कठिन घडीमा प्रभावित नागरिक, स्थानीय समुदाय, सरकारी निकाय, सुरक्षा निकाय, गैरसरकारी संस्था तथा सम्पूर्ण सरोकारवालाबीचको सहकार्यबाट राहत, पुनःस्थापना र पुनर्निमाणका प्रयासलाई थप प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेको छ ।