काठमाडौं, भाद्र १० गते बुधबार भोटकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रको उद्धार, राहत तथा आर्थिक पुनरुत्थानमा बैंकिङ क्षेत्र सक्रिय रूपमा परिचालित हुने प्रतिबद्धता जनाएको छ ।
सिबिफिनले जारी गरेको विज्ञप्तिमा बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । साथै, बेपत्ता नागरिक, सुरक्षाकर्मी तथा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत सबैको शीघ्र खोजी तथा उद्धारको अपेक्षा गरिएको छ । बाढीले मानवीय बस्तीमा मात्र नभई बैंक तथा वित्तीय संस्थाका शाखा तथा अन्य बैंकिङ पूर्वाधार, जलविद्युत् आयोजना, सडक, पुल, व्यापारिक प्रतिष्ठान तथा केरुङ नाकाबाट भित्रिएका मालवस्तु र सवारीसाधनमा समेत ठूलो क्षति पु¥याएको सिबिफिनले जनाएको छ ।
विशेषगरी प्रभावित क्षेत्रमा जलविद्युत्, व्यापार, पर्यटन, पूर्वाधारलगायत विभिन्न व्यवसायमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य कर्जा तथा लगानी रहेकाले प्राकृतिक विपद्को असर बैंकिङ क्षेत्रसम्म पनि पुग्न सक्ने देखिएको छ । बाढीका कारण ऋणी, व्यवसाय, परियोजना तथा बैंकिङ सेवामा परेको असरले आगामी दिनमा समग्र आर्थिक गतिविधिमै प्रभाव पार्न सक्ने सिबिफिनको भनाइ छ ।
यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूको पहिलो प्राथमिकता मानवीय उद्धार, राहत तथा कर्मचारी र ग्राहकको सुरक्षा रहेको सिबिफिनले स्पष्ट पारेको छ । प्रभावित क्षेत्रमा बैंकिङ पहुँचलाई यथाशीघ्र सहज बनाउन वैकल्पिक माध्यमबाट सेवा सञ्चालन तथा आवश्यक व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरिएको छ ।
त्यसैगरी, वास्तविक रूपमा प्रभावित व्यक्ति, व्यवसाय तथा परियोजनाको क्षतिको यथार्थ मूल्यांकन गरी आवश्यकताअनुसार कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना, किस्ता र ब्याज भुक्तानीमा सहजीकरण तथा व्यवसाय पुनःसञ्चालन र पुनर्निर्माणका लागि आवश्यक सहयोग उपलब्ध गराउनेतर्फ सिबिफिनले आफ्ना सदस्य संस्थाका सञ्चालक समितिमार्फत समन्वय र सहजीकरण गर्ने जनाएको छ ।
सिबिफिनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग समेत समन्वय गरी विपद्बाट प्रभावित ऋणी तथा व्यवसायलाई राहत पुग्ने नीतिगत तथा कार्यगत उपाय अवलम्बनका लागि पहल गर्ने बताएको छ । यसबाट विपद्को प्रत्यक्ष मारमा परेका व्यवसायी तथा ऋणीलाई तत्काल राहत दिनुका साथै बैंकिङ प्रणालीमा पर्न सक्ने दीर्घकालीन दबाब व्यवस्थापन गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सिबिफिनले राष्ट्रिय विपत्तिको सामना कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग हातेमालो गरी उद्धार, राहत, पुनःस्थापना र आर्थिक पुनरुत्थानमा सहयोग गर्न सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र तयार रहेको जनाएको छ । संघीय, प्रदेश तथा स्थानीय सरकारले अघि सारेका राहत, पुनःस्थापना र पुनर्निर्माणका प्रयासमा साथ दिन तथा प्रभावित परिवार, व्यवसाय र समुदायलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन एकताबद्ध भएर परिचालित हुन सिबिफिनले बैंक तथा वित्तीय संस्थाहरूलाई अपिलसमेत गरेको छ । सिबिफिनका महानिर्देशक रोशन कोइरालाले विज्ञप्तिमार्फत विपद्का बेला बैंकिङ क्षेत्र केवल वित्तीय कारोबारमा सीमित नरही प्रभावित नागरिक, व्यवसाय र अर्थतन्त्रको पुनरुत्थानमा समेत जिम्मेवार साझेदारका रूपमा अघि बढ्ने सन्देश दिएका छन् ।