दोलखा, गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि दोलखाका दुई स्थानीय तहले आर्थिक सहयोग गर्ने भएका छन् । जिल्लाको भिमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाले राहत उपलब्ध गराउने भएका हुन् । भीमेश्वरले ३० लाख ६२ हजार ५ सय ९३ रुपैयाँ राहत सहयोग गर्ने भएको छ । भने वैतेश्वरले ७ लाख ७० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
भीमेश्वर नगरपालिकाले कर्मचारी तथा शिक्षकको २०८३ भदौ महिनाको तलब÷पारिश्रमिकबाट कट्टा हुने रकम र जनप्रतिनिधिको खाइपाइ आएको सुविधाको ७ दिन बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
यस्तै नगरपालिकाले बाढीबाट ज्यान गुमाएका वा बेपत्ता भएका नगरका स्थायी बासिन्दाका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ दिने निर्णय गरेको नगर प्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिए । उनका अनुसार बाढीमा परी घाइते भएका नागरिकलाई प्रतिव्यक्ति २५ हजार रुपैयाँ उपचार खर्च उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यसैगरी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि जिल्लाको वैतेश्वर गाउँपालिकाले ७ लाख ७० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाको निर्णयअनुसार विपद् व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ र गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीबाट संकलित ५ लाख ७० हजारसहित ७ लाख ७० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने पालिकाका अध्यक्ष छवि लामाले जानकारी दिए ।
पालिकाले जनप्रतिनिधितर्फ गाउँ कार्यपालिका सदस्यबाट ८० हजार र गाउँसभा सदस्यबाट ८१ हजार रुपैयाँ तथा कर्मचारीबाट ४ लाख ९ हजार रुपैयाँ संकलन गरेको छ । बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गाउँपालिका अध्यक्ष लामाले राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र समन्वय निरन्तर गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी वैतेश्वरमै मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी सस्थाले पनि प्रधानमन्त्री विपद् दैविक प्रकोप उद्धार कोषमा २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गरेको छ । त्यसैगरी उद्योग वाणिज्य सघ दोलखाले पनि साँढे ३ लाख बराबरको दैनिक उपभोग्य अत्यावश्यक सामग्री वितरण गरेको अध्यक्ष सनत थापाले बताए । त्यसैगरी उद्योग वाणिज्य सघ दोलखाकै पूर्व अध्यक्ष एवं चरिकोटका व्यवसायी सुन्दर कार्कीले पनि प्रधानमन्त्री दैविक विपद उद्धार कोषमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग जम्मा गरेका छन् । जिल्लाका अन्य विभिन्न सघसस्थाले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम संकलन गरेर जम्मा गरेको जनाएका छन् ।