काठमाडौं, महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य, होटल, रेस्टुरेन्ट तथा उपहार सामग्रीलगायतका विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रका विभिन्न संस्थासँग सम्झौता गरेको जनाएको छ ।
सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सम्बन्धित संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन् । बैंकका अनुसार कुरिनटार, चितवनस्थित मनकामना हिलक्रेस्ट होटलमा आवास तथा रेस्टुरेन्ट सेवामा १२ दशमलव पाँच प्रतिशतसम्म छुट पाइनेछ । त्यस्तै, काठमाडौंको ठमेलस्थित एलोफ्ट काठमाडौंमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
लाजिम्पाटस्थित एल्लो हात्तीबाट उपहार सामग्री खरिद गर्दा १० प्रतिशतसम्म, बुद्धनगरस्थित अल्फा केयर डाइगोनोस्टिक सेन्टरमा स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म र कलंकीस्थित दृष्टी आई केयरमा नाक, कान, घाँटी, आँखा उपचार तथा प्रयोगशाला सेवामा २० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ । यसैगरी, दरबारमार्गस्थित ओरियन्ट क्याफेमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म र हेटौंडा, मकवानपुरस्थित होटल स्मारकमा आवास तथा खाना–पेय पदार्थमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।
बैंकले वित्तीय सेवासँगै ग्राहकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, आतिथ्य तथा मनोरञ्जनसम्बन्धी सेवामा समेत सुविधा विस्तार गर्ने उद्देश्यले यस्तो सहकार्य अघि बढाएको जनाएको छ। यसबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ । यसैबीच, गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ । डिजिटल प्रविधि र आधुनिक बैंकिङ सेवामार्फत ग्राहकलाई थप सहज र सुविधाजनक सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल हब सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । ग्राहकलाई बैंकिङ सेवासँगै दैनिक उपभोगमा समेत अतिरिक्त सुविधा उपलब्ध गराउने यस्ता सहकार्यले महालक्ष्मी विकास बैंकको ग्राहक केन्द्रित सेवाको दायरालाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।