माले, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सक्रियताको आह्वान गर्दै सदस्य राष्ट्रहरूलाई क्षेत्रको हितमा संवादमार्फत मतभेद समाधान गर्ने आइतबार आग्रह गरेका छन् ।
उनले माल्दिभ्सको स्वतन्त्रताको ६१औँ वार्षिकोत्सव मनाउने स्वतन्त्रता दिवस समारोहमा बोल्दै यी कुरा बताएका हुन् । मुइज्जुले सार्क समूहभित्रको हालको गतिरोधबारे उल्लेख गर्दै मतभेद संवादमार्फत समाधान गर्नुपर्ने कुरा दोहोर्याए ।
उनले क्षेत्रीय शान्ति र सहयोगको हितमा सार्क सदस्य राष्ट्रहरूलाई वार्ताको टेबलमा फर्कन आह्वान गरेका हुन् । जारी विज्ञप्तिमा उनले भने, ‘हाल समूहले सामना गरिरहेको गतिरोध तोड्न माल्दिभ्स मध्यस्थको रूपमा काम गर्न गर्न तयार छ ।’ देश र अन्तर्राष्ट्रिय सङ्गठनका ११३ कूटनीतिज्ञ र ४३ देशहरूको अगाडि माल्दिभ्सका राष्ट्रपतिले माल्दिभ्सको विदेश नीतिबारे पनि बताएका थिए । उनले अन्तर्राष्ट्रिय समुदायलाई शान्तिपूर्ण संवादमार्फत विवाद समाधान गर्न आह्वान गरे ।
यसैबीच, जुलाईको सुरुमा बङ्गलादेशले पनि दक्षिण एशियाभित्र सहयोग गहन बनाउन समर्थन जनाएको थियो र सम्भावना तथा कार्यसम्पादनबीचको खाडल पुर्नुपर्ने आग्रह गरेको थियो । बंगलादेशका विदेश मामिला राज्यमन्त्री शामा ओबेदले सङ्गठनलाई पुनरुत्थान गर्न मुख्य उपायहरू सूचीबद्ध गर्दै भने, ‘संगठनलाई बलियो कार्यान्वयन क्षमता, बढी वित्तीय शक्ति, प्रभावकारी विशेष संयन्त्र र व्यावहारिक संस्कृतिको आवश्यकता छ ।’
ओबेदले भने, ‘बंगलादेश सार्कका सदस्य देशहरूसँगको कुराकानीपछि ‘वरिष्ठ अधिकारीहरूको बैठक आयोजना गर्ने र मन्त्रिपरिषद्को विशेष सत्रको सम्भावनाका लागि साझेदार देशहरूबीच नजिकको सहयोग समन्वय गर्ने’ बारे विचार गरिरहेको छ ।’ सार्क आठ सदस्य राष्ट्र—अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकासहितको क्षेत्रीय राजनीतिक र आर्थिक संगठन हो ।
यो समूहले दक्षिण एसियाभर आर्थिक सहयोग, क्षेत्रीय एकीकरण र विकासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको भए पनि हालका वर्षहरूमा यसले गतिरोध भोगेको एएफपीले जनाएको छ ।