काठमाडौं, यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका अनुसार बिक्री हुन बाँकी रहेको २६ हजार नौ सय ७४ कित्ता संस्थापक सेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्री खुला गरिएको हो ।
कम्पनीका अनुसार यसअघि माछापुच्छ्रे ब्रिक फ्याक्ट्री प्रालिको नाममा रहेको ८४ हजार पाँच सय ६६ कित्ता संस्थापक सेयरमध्ये २६ हजार नौ सय ७४ कित्ता सेयर प्रतिकित्ता न्यूनतम एक सय ७० रुपैयाँका दरले विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र बिक्रीमा राखिएको थियो । तर, तोकिएको अवधिभित्र उक्त सेयर खरिदका लागि कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अब इच्छुक तथा योग्य जोकोहीले आवेदन दिन सक्ने गरी बिक्री प्रक्रिया खुला गरिएको हो ।
कम्पनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्थाअनुसार संस्थापक सेयर खरिद गर्न अयोग्य नरहेको स्वघोषणापत्र तथा अन्य आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ । इच्छुक आवेदकले आफूले खरिद गर्न चाहेको सेयर कित्ताको विवरण खुलाएर कम्पनीको प्रधान कार्यालय सीटीसी मल, सुन्धारा, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।