काठमाडौं, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको व्यवसाय विस्तार, उत्कृष्ट कार्यसम्पादन तथा बीमा सेवाको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई सम्मान गरेको छ ।
कम्पनीले शुक्रबारदेखि आइतबारसम्म बुढानीलकण्ठस्थित होटलमा उत्कृष्ट अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरी देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेका अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा एमडीआरटी हासिल गर्न सफल अभिकर्ता, ‘मेगा स्टार’ उपाधि प्राप्त अभिकर्ता तथा सिनियर एजेन्सी म्यानेजरहरूलाई उनीहरूले कम्पनीको व्यवसायिक वृद्धिमा पुर्याएको योगदान, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै सम्मान गरिएको थियो । सम्मानित अभिकर्ताहरूलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा प्राडा. भगवान कोइराला तथा डा. विष्णुप्रसाद रेग्मीले स्वास्थ्य, जीवन तथा पेशागत विकाससँग सम्बन्धित उत्प्रेरणामूलक विशेष प्रस्तुति दिएका थिए । प्रस्तुतिले सहभागी अभिकर्ताहरूलाई व्यक्तिगत तथा व्यावसायिक जीवनमा थप प्रेरणा प्रदान गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृतले रिलायबल नेपाल लाइफको सफलताको प्रमुख आधार अभिकर्ताहरू रहेको बताए । उनले अभिकर्ताहरूको निरन्तर मेहनत, व्यावसायिक प्रतिबद्धता र ग्राहकप्रतिको उत्तरदायित्वको प्रशंसा गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई प्रोत्साहन गर्न यस्ता सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । कार्यक्रममा कम्पनीको व्यवसाय विस्तारका सम्भावना, आगामी व्यावसायिक रणनीति तथा ग्राहकलाई गुणस्तरीय बीमा सेवा प्रदान गर्ने विषयमा समेत छलफल भएको थियो । साथै, सहभागी अभिकर्ताहरूबीच अनुभव आदान–प्रदान तथा सफलताको प्रेरणादायी यात्राबारे अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको क्षमता विकास, उत्प्रेरणा तथा व्यावसायिक उत्कृष्टतालाई प्रोत्साहन गर्दै बीमा क्षेत्रको समग्र विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ ।