काठमाडौं, रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरू, सोही नगरपालिका–१ बस्ने उदयपुर घर भएका ७० वर्षीय संजिब थापा, चाँगुनारायण नगरपालिका–५ बस्ने ५८ वर्षीय मदन कृष्ण फोजु, काठमाडौं बस्ने नुवाकोट घर भएका ५७ वर्षीय उमेश प्रसाद ढकाल र काठमाडौं बालाजु बस्ने ६७ वर्षीय इन्द्र बहादुर केसी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल रेडक्रस सोसाइटी संस्थाको लागि गोदाम घर सञ्चालनको लागि भक्तपुर, भक्तपुर नगरपालिका–४ (क) मा खरिद गरेको जग्गा बोलपत्रमा उल्लेख भएको सर्त विपरीत मध्यस्थकर्ता (बिचौलिया)मार्फत गरेको, जग्गा खरिदमा ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रूपैयाँ भुक्तानी गरेकोमा सो रकम मध्ये १ करोड ९३ लाख ७ सय ५० रूपैयाँ मध्यस्थकर्ता (बिचौलिया)ले लिएको एवं क्षेत्रफल ५–१३–३–० जग्गा खरिद गरेकोमा नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल एकिन गराउँदा फिल्डमा क्षेत्रफल ५–६–२–१ मात्र रहेको खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।