काठमाडौं, लघुवित्त ऋणीहरू घर फर्किएका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयबाहिर धर्नामा बस्दै आएका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आइतबार आ–आफ्नो घर फर्किएका हुन् ।
सरकार र लघुवित्त ऋणीका प्रतिनिधिबीच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएपछि लामो समयदेखि जारी धर्ना कार्यक्रम स्थगित गरिएको हो । सहमतिसँगै ऋणीहरूले आन्दोलनका कार्यक्रम तत्कालका लागि अन्त्य गर्दै आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका हुन् ।
सरकारले व्यवस्था गरेको साझा यातायातका बसमार्फत आइतबार बिहान ८ः५० बजे उनीहरूलाई गृहजिल्लातर्फ पठाइएको हो । विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा तीन सय २३ जना ऋणीलाई आठ वटा बसमा राखेर बिदाइ गरिएको थियो । पुल्चोकमा धर्नामा सहभागी भएका ऋणीहरूमा झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायत विभिन्न जिल्लाका नागरिक थिए । सहमति कार्यान्वयन हुने अपेक्षासहित उनीहरू घर फर्किएका हुन् ।
लघुवित्त ऋणीहरूले लामो समयदेखि आफूहरू ऋणको चर्को ब्याज, जरिवाना, असुली प्रक्रिया तथा आर्थिक दबाबमा परेको भन्दै सरकारसँग समस्या समाधानका लागि माग राख्दै आएका थिए । उनीहरूले ऋण पुनर्संरचना, ब्याज तथा असुली प्रक्रियामा सुधार र पीडित ऋणीका समस्या सम्बोधन गर्नुपर्ने माग अघि सारेका थिए ।
सरकारसँग भएको १४ बुँदे सहमतिलाई ऋणीहरूले आफ्नो आन्दोलनको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनीहरूले यो सहमति कागजमा मात्र सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।