काठमाडौं, बैंकिङ क्षेत्रमा शाखा संख्या घटे पनि डिजिटल बैंकिङ कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको २०८२/२०८३ जेठ मसान्तको तथ्यांकको तुलनात्मक अध्ययनले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार २०८२ जेठ मसान्तमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या छ हजार पाँच सय १९ रहेकोमा २०८३ जेठ मसान्तमा घटेर छ हजार तीन सय ५८ मा झरेको छ । अर्थात् एक वर्षमा एक सय ६० वटा शाखा अर्थात् दुई दशमलव ४५ प्रतिशत शाखा संख्या घटेको छ । विशेषगरी वाणिज्य बैंकको शाखा पाँच हजार ९५ बाट घटेर चार हजार नौ सय ५० मा झरेको छ भने विकास बैंकहरूको शाखा एक हजार एक सय ३२ बाट घटेर एक हजार एक सय १५ वटामा खुम्चिएको छ ।
यस अवधिमा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या भने दुई सय ९१ वटाबाट बढेर दुई सय ९३ पुगेको छ । राष्ट्र बैंकका अनुसार कुल शाखा संख्या घटे पनि पछिल्लो अवधिमा निक्षेप एवं कर्जा खाताको संख्या भने अघिल्लो आवको तुलनामा निकै बढेको छ । सोअनुसार २०८२ जेठ मसान्तमा कुल निक्षेप खाता पाँच करोड ९४ लाख २९ हजार तीन सय ६७ रहेकोमा २०८३ जेठ मसान्तमा बढेर छ करोड ३० लाख ६५ हजार नौ सय ९४ पुगेको छ ।
तथ्यांक अनुसार पछिल्लो एक वर्षमा ३६ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता थपिएका छन् । यो संख्या भनेको कुल निक्षेप खाताको छ दशमलव १२ प्रतिशतको वृद्धि हो । यसैगरी कर्जा खाताको संख्या पनि पछिल्लो अवधिमा बढेको छ । २०८२ मा १९ लाख ६६ हजार पाँच सय ५८ वटा रहेको कर्जा खाता सञ्चालनमा रहेकोमा २०८३ मा यस्तो संख्या बढेर २० लाख ४८ हजार नौ सय ८५ पुगेको छ । यसअनुसार एक वर्षमा ८२ हजार चार सय २७ कर्जा खाता थपिएका छन् ।
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संंख्या पनि पछिल्लो समय बढेको छ । २०८२ जेठ मसान्तमा मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोड ७४ लाख ६४ हजार नौ सय ९६ रहेकोमा २०८३ जेठ मसान्तमा यो संख्या बढेर तीन करोड एक लाख ६० हजार ४० पुगेको छ । अर्थात् एक वर्षमा करिब २६ लाख ९५ हजार प्रयोगकर्ता थपिएका छन्, जुन नौ दशमलव ८१ प्रतिशतको वृद्धि हो ।
पछिल्लो अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता बढे पनि इन्टरनेट बैंकिङ प्रयोगकर्ता भने घटेका छन् । २०८२ मा २६ लाख ६५ हजार एक सय ४३ रहेको इन्टरनेट बैंकिङ ग्राहक रहेकोमा २०८३ मा घटेर २४ लाख ५५ हजार नौ सय ८० मा खुम्चिएको छ । यस अवधिमा पछिल्लो एक वर्षमा मात्र झण्डै दुई लाख नौ हजार अर्थात् सात दशमलव ८५ प्रतिशतले इन्टरनेट बैंकिङ ग्राहक घटेका छन् ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय शाखारहित बैंकिङ केन्द्रको संख्या भने उल्लेख्य रूपमा घटेको छ । २०८२ जेठमा आठ सय ८० वटा रहेको शाखारहित बैंकिङ केन्द्र २०८३ जेठमा छ सय ८२ वटामा झरेको छ । अर्थात् एक वर्षमा एक सय ९८ केन्द्र अर्थात् २२ दशमलव पाँच प्रतिशत कमी आएको छ । यससँगै शाखारहित बैंकिङ ग्राहकको संख्या पनि दुई लाख ७७ हजार तीन सय १६ बाट घटेर दुई लाख ६४ हजार चार सय ९१ मा झरेको छ । २०८२ जेठमा पाँच हजार दुई सय ६५ वटा एटीएम रहेकोमा २०८३ जेठमा घटेर पाँच हजार एक सय ५६ मा झरेको छ । तर डेबिट कार्डको संख्या भने बढेको छ । डेबिट कार्ड एक करोड ३५ लाख ९२ हजार १४ बाट बढेर एक करोड ३९ लाख ८७ हजार पाँच सय ५५ पुगेको छ । सोअनुसार पछिल्लो अवधिमा करिब तीन लाख ९६ हजार डेबिट कार्ड थपिएका छन् ।
राष्ट्र बैंकका अनुसार क्रेडिट कार्डको संख्या पनि तीन लाख १४ हजार चार सय ५३ बाट बढेर तीन लाख ३४ हजार छ सय १३ पुगेको छ । प्रिपेड कार्डको संख्या पनि दुई लाख ४६ हजार चार सय ४० बाट बढेर दुई लाख ८४ हजार आठ सय ८७ पुगेको छ । सोअनुसार प्रिपेड कार्ड संख्या करिब १५ दशमलव प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।