काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका २ जना कर्मचारीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ गेंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा, गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा जननीको साथबाट अमेरिकी डलर ४ हजार ३ सय र मेलिसियन रिङ्गिट १२ हजार ३ सय ७२ तथा ममताको साथबाट अमेरिकी डलर ४ हजार २ सय र मेलिसियन रिङ्गिट १२ हजार ३ सय २८ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।