विराटनगर, विराटनगर भन्सारमा भन्सार जाँचपास गर्ने कर्मचारी र भन्सार एजेन्टका बीचमा सामानको जाँचपास गर्दादेखि नै सेटिङ्ग हुँदै आएको पाइएको छ । भन्सार कर्मचारी र भन्सार एजेन्टका बीचको सेटिङ्गमा भन्सार प्रज्ञापनपत्रमा सामान उल्लेखै नगरी जाँचपास गर्ने गरेको पाइएको हो ।
गत हप्ता विराटनगर भन्सारबाट जाँचपास गराएर आफ्नो गन्तव्यतर्फ सामान पुर्याउन हिँडेको एउटा ट्रकलाई सशस्त्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएर पुनः भन्सार जाँचका लागि भन्सार कार्यालयमै फर्काएपछि सेटिङ्गको रहस्य खुलेको हो । विराटनगर भन्सारले उक्त सामान पुनः जाँचगरी हेर्दा पास गरिएको भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएको विवरणभन्दा बाहेकका सामान जुत्ताचप्पल, चस्मा, ब्युटीपार्लरका सामान भेटिएको थियो । यसले लामो समयदेखि विराटनगर भन्सारमा हुँदै आएको भन्सार कर्मचारी र भन्सार एजेन्टका बीचमा हुने गरेको अवैध लेनदेनलाई सार्वजानिक गरिदिएको छ ।
केही दिन अगाडी विराटनगरमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्टले नियन्त्रणमा लिएको बीआर ०१६ ए ३३४७ नम्बरको भारतीय सवारीमा प्रज्ञापनपत्रमा कपडा उल्लेख गरेर भन्सार जाँचपास गराइएको थियो । तर ससस्त्रले नियन्त्रणपछि भन्सार फर्काएको उक्त मालवाहक सवारीमा २७ प्रकारका चस्माका सामान र ब्युटीपार्लरका सामानसमेत फेला परेको हो ।
विराटनगर भन्सारको भन्सार जाँचपास प्रक्रियालाई ढाकछोप गर्दै विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलदेव साहले भने सामान बोकेको गाडी अहिलेसम्म पनि भन्सारकै नियन्त्रणमा रहेको र अनुसन्धान भइरहेको बताएका छन् । तर, विराटनगर भन्सारले उक्त सामान पक्राउ परेर पुनः जाँच प्रक्रिया चलेको सार्जजानिक गरेको छैन । भन्सार एजेन्ट नम्बर २९२ का एजेन्ट भरत भट्टराईको क्लियरिङ्ग फर्मबाट उक्त सामान भन्सार क्लिरेन्स गराएको खुलेको छ ।
भट्टराईले निश्चित रकम लिएर अकबर अली भन्ने तेस्रो व्यक्तिबाट भन्सार कर्मचारीको सेटिङ्गमा उक्त सामान भन्सार प्रज्ञापनपत्रमा उल्लेखै नगरी लगेको स्रोतको दाबी छ । सशस्त्रले नियन्त्रणमा लिएर भन्सार फर्काएको उक्त गाडीमा सुअपर–१९० थान, सुइन्सोल २१ थान, ननपेटल ड्रिलिङ्ग मेसिन–३ थान, अब्लोङ्ग फेस मिरर फर आइचेक–८ पिस, पावर डिटेक्सन एसोसेरिज–६ थान, लेन्स क्लिनर (२० एमएल)–२५० थान, लेजर पोइन्टर–२४ थान, आइब्यान्डेज–७ थान, टियरटेस्ट स्ट्रिप्स–४ थान, स्क्रुप्प ड्राइफर गुगल–४० थान र रबर गुगल पार्ट–२ प्याकेड फेला परेको थियो ।
त्यसैगरी सोही गाडीमा एसएस फेस क्लिनर–४० थान, इन्भिजी–२०० थान, नोभावक्स हिटर–२० थान, एरोनावक्स हिटर–२४ थानसमेत पुनः भन्सार जाँच गर्दा फेला परेको हो । त्यस बाहेक मेकअप फिक्चर स्प्रे–३५ थान, मेकमी साइन–२१ थान, मेनिक्युक्ले–१२ थान, टोय टिप्स क्लियर ११ प्याकेज (५५०० थान) चार केजी, फाउन्डेसन मेकअफ ब्रस–२५० थान, बोल्ट बी–१२ प्याकेट, मेकअप टेप–७ थान, पेडीक्युर एसोसेरिज–१२ थान, लेमिटेसन ज्वेलर्स–१ केजी, फिसवेल–६० थान, फिसिङ्ग फुड–४ केजी, फिसिङ्ग स्टिक–६ थान पनि पुनः जाँचमा फेला परेको थियो । भन्सार जाँचपासमा मिलेमतो भएको भन्दै सशस्त्र प्रहरीलाई सूचना पुगेपछि गाडी नियन्त्रणमा लिइएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालिनी गण हेडक्वाटर टंकीबाट जाँचपासमा त्रुटी गराएको भन्ने सूचनाका आधारमा सशस्त्रको भन्सार गस्तिले उक्त गाडी नियन्त्रणमा लिएर भन्सारमा बुझाइएको जनाएको छ ।