काठमाडौँ, आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । नेपाल र ओमानबीचको खेल बिहान ११ः१५ बजे मस्कटस्थित अल अमरात क्रिकेट मैदानमा सुरु हुनेछ ।
जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो । यस्तै, ओमानले पनि क्यानडालाई ४१ रनले हराएको थियो ।नेपाली टोली आज ओमानलाई पराजित गर्दै अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छ । आइसिसी एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष छभित्र रहनुपर्ने भएकाले नेपालका लागि आजको खेल महत्वपूर्ण मानिएको छ ।
हाल अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छन् । लिग–२ को तालिकामा शीर्ष छमा रहने टोलीले सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनेछन् । तालिकाको पुछारमा रहने दुई टोलीले भने एकदिवसीय मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ ।