पुराना दलललाई पैँतीस वर्षे लुटेरा भनेर निर्वाचनका क्रममा भाषण गरेका आफूलाई सुसंस्कृत राजनीतिक कर्ता भनेर चिनाउने तथा पुराना राजनीतिक दलको विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र मन्त्रीका अभिव्यक्तिलाई एकठाउँमा राख्ने हो भने असभ्यताको योभन्दा अर्को नमुना नहोला वा नपाइएला । हाल सत्ता चलाइरहेको दलको मूल नारा हो सुशासन, जवाफदेहिता, पारदर्शिता र नयाँ राजनीतिक संस्कार स्थापना गर्ने भन्ने । तर न यसको सरकार न मन्त्री र न यसका सांसदहरूले नै यो छोटो समयमा नै उनीहरूले भने जस्तो परिचय दिन सकेका छन् । बरु उनका अभिव्यक्ति साधारण नागरिकदेखि संसद्मा पनि सुनिनसक्नुका बन्दैछन् । उनीहरूले आफूलाई केन्द्रमा राखेर नागरिकहरू भनेका आफ्ना दासहरूजस्ता गरी व्यवहार गरेका विवरणहरू दिनहूँ सञ्चारमाध्यममा आइरहेका छन् । आफ्नो स्वागतमा नआएका भनेर आफ्नै मतदातालाई तथानाम गर्नेदेखि थुन्ने थुनाउने र हातखुट्टा नै भाँचिदिने जस्ता कुरा त यो दल सत्तारुढ भएको यो छोटो समयमा नै सामान्य बोलिचालिका विषयमै परिणत भइसके । माननीयबाट छाडा बोलीका यस्ता उदाहरण सम्भवतः पहिलोपटक यो रूपमा प्रकट हुँदैछ । जसलाई दुःखद् भन्नुपर्छ ।
प्रारम्भमा नयाँ अनुहार भएकाले सिक्दै जान्छन् भनिएको थियो । तर त्यस्तो सिकाइ आफूले जे बोले पनि हुने जसको मर्यादा तोडे पनि हुनेमा परिणत हुँदै गएको देखिन्छ । झन्झन् पछिल्ला समय मन्त्रीदेखि सांसदसम्मका विवादास्पद अभिव्यक्तिले स्थायी रुप लिँदैछन् । पछिल्लोसमय एक महिला सांसदबाट संसद् र त्यसका समिति तथा सार्वजनिक स्थलहरूमा जसरी आफ्नो अमर्यादित व्यवहार निरन्तर प्रकट भयो । त्यसले समग्ररूपमा सांसदहरूको परिचय अर्थात् नागरिकले तिनलाई अर्को प्रकारले चिन्ने स्थिति आउन लागेको हो कि भन्ने चिन्ता बढाएको देखिन्छ ।
यद्यपि यो दलले सांसदहरूको भूमिका, सार्वजनिक अभिव्यक्ति र पार्टीसँगको सम्बन्धलाई व्यवस्थित गर्न आचारसंहिताको विषय पनि उठाएको छ । तर त्यसलाई मान्य गराउन सकेको देखिएन । सांसदमात्र होइन मन्त्री बनेका व्यक्तिसमेतका बोली व्यवहार संयमी देखिएनन् । त्यसको उदाहरण भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले निर्माणाधीन सडक आयोजनाको निरीक्षणका क्रममा खुट्टा भाँचेर भए पनि काम लगाउनुस् भनेर सुरुमै दिएका अभिव्यक्ति धेरैपटक र ठाउँठाउँमा नै दोहोरिइरहेका छन् । उनीबाट यस्ता अभिव्यक्ति आइरहँदा यता मन्त्रीलाई लगाम लगाउने प्रधानमन्त्रीले त्यस्ता भनाइलाई प्रोत्साहन दिँदै देश बनाउने व्यक्ति भनेर परिचय गराए । यस्तो परिचय गराइएको लगत्तै यिनै मन्त्रीले नै प्रदेश मन्त्रीलाई थुन्ने र मेयरलाई कारबाही गर्ने चेतावनी दिए । यी दुवै कुरा उनको कार्यक्षेत्रभित्रको होइन । उनैले कुनै नागरिकलाई प्रक्राउ गरेर आफूसमक्ष प्रस्तुत गर्न भन्दै प्रहरीलाई आदेश दिएका विषय पनि चर्चामा छँदैछ ।
मन्त्रीका त भनाइहरू यस्ता आउँछन् भने सांसदका त कस्ता होलान् भन्ने अनुमान गर्न सकिन्छ । सत्तारुढ दलका सांसद नै संसद्मा सभामुखसँगका भनाभनदेखि सामाजिक सञ्जालमा जस्ता भनाइहरू आइरहेका छन् ती सभ्य समाजका लागि पाच्य नहुन सक्दछ । अर्का एक मन्त्रीले केही पहिले मतदातालाई जस्तो खालको तिरस्कारपूर्ण व्यवहार गरे त्यो पनि सह्य हुने खालको थिएन । उनले सानो विषयमा कुनै मान्छेका गाला मालिस गरिदिनू भनेर निर्देशन नै जारी गरे । यसको अर्थ हो आफूलाई मन परेन भने त्यो मान्छेलाई कुटपिट नै गरे पनि केही फरक पर्दैन । यिनै मन्त्रीले आफूसमक्ष नागरिकले गरेका गुनासोविरुद्ध चित्त नबुझे आफ्नो मत फिर्ता लानू भनेर बताएका कुरा पनि सार्वजनिक भइसकेका छन् ।
अर्का एक जना सांसदले एउटा सार्वजनिक छलफलको क्रममा प्रश्नकर्तातर्फ औँला ठड्याउँदै हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ भन्ने जस्ता अभिव्यक्ति दिएका कुरा पनि सामान्य थिएनन् । तर त्यसलाई पनि केही होइन भनेर पन्छाइएको जस्तोे देखियो । सम्बन्धित दलले आफ्ना सदस्यबाट आइरहेका यस्ता अमर्यादित कुरा अविलम्ब सच्याओस् ।