बीपीलाई भेट्ने मौका पनि मिल्यो, उहाँका कुरा, सादगी र व्यक्तित्वबाट धेरै प्रभावित हुने अवसर पनि । तर आज बारम्बार मनमा एउटै प्रश्न आउँछ—बीपीका विचार र महावाणीहरू कहाँ गए ? अहिले त उहाँको नाम मात्रै बाँकी भएजस्तो लाग्छ । खोज्ने कसले ?
बीपीले सादा जीवनको उदाहरण दिनुभयो । तर आज त्यो सादगी कहाँ छ ? खोज्दा त लाग्छ, सादगी कतै भिर पाखामा सुतेको छ ।उहाँ गाउँको विकासको कुरा गर्नुहुन्थ्यो । तर आज गाउँहरू धमाधम खाली हुँदै छन् । युवा विदेशिएका छन्, खेतबारी बाँझिएका छन्, गाउँका गाउँहरू झन् रित्तिँदै गएका छन् । रौनक हराउँदै गएका छन् र बाँदर,दुम्सी, बँदेलजस्ता जन्तुको बासस्थान बन्दै छन् ।उहाँ भन्नुहुन्थ्यो, ‘निर्णय गर्दा कृषक र गरिबलाई सम्झनू ।’ तर आज कृषक खेती छोड्न बाध्य छन्, गरिबहरू रोजगारीको खोजीमा विदेशिएका छन् ।
बीपी राष्ट्रियताको कुरा गर्नुहुन्थ्यो । राष्ट्रियता भाषणमा मात्रै होइन, व्यवहारमा पनि देखिनुपर्छ । तर आज आफ्नै देशमा भविष्य खोज्ने नेपाली युवा कम हुँदै गएका छन् । पलायन बढ्दो छ र देश विस्तारै वृद्धाश्रम जस्तो बन्दै गएको महसुस हुन्छ । स्वाभिमानको कुरा त धेरै हुन्छ, तर स्वाभिमान कति बाँकी छ ?
बीपीका विचार बोकेको मुख्य राजनीतिक दल नेपाली कांग्रेस भनिन्छ । तर उहाँका आदर्शहरू व्यवहारमा कति बाँकी छन् ? कि ती केवल भाषण र कार्यक्रममा मात्रै सीमित भए ?त्याग, सादगी र नैतिकताको प्रतीक श्रद्धेय गणेशमान सिंह र सरल जीवनका उदाहरण किसुनजी अन्तिम समयमा किन दुःखी हुनुभयो ? किन उहाँहरूले आफ्नै दलभित्र दूरी महसुस गर्नु पर्यो ? यसबारे कहिल्यै गम्भीर आत्मसमीक्षा गरियो त ?

समयसँगै नेपाली कांग्रेसका वरिष्ठ नेताहरूले आफूलाई बदल्न, सुधार्न र नेतृत्व हस्तान्तरण गर्न नसक्दा नयाँ पुस्ताको वैकल्पिक राजनीतिक दल उदाएको छ । नेपाली जनताले वैकल्पिक राजनैतिक दल स्वीकार गर्न बाध्य भए र छोटो समयमै नयाँ दलले झण्डै दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको छ भने नेपाली कांग्रेस अझै आन्तरिक झगडामै अल्झिएको छ । झण्डै एक वर्ष बितिसक्दा पनि पार्टी एकताबद्ध हुन सकेको छैन ।
आज नेपाली कांग्रेससँग रूख चुनाव चिह्न र चारतारे झण्डा त छ, तर त्यसको मुनि सिंगो नेपाली कांग्रेसभन्दा व्यक्ति वा समूहको प्रभाव बढी देखिन्छ । ऐतिहासिक रूख चिह्न, चारतारे झण्डा र एकजूट नेपाली कांग्रेस आज जनता र समयको माग बनेको छ । तर ढिलो भइसक्दा पनि चेत कहिले खुल्न सकेको छैन ?विडम्बना, बीपी स्मृति तथा मेलमिलाप दिवस मनाइरहँदा नेपाली कांग्रेसकै संस्थापन इतर पक्ष भनाउँदा ले छुट्टै कार्यक्रम गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा बीपीको तस्बिरमा माल्यार्पण होला, उहाँका विचार बारे भावुक भाषण पनि होलान् । मेलमिलाप कसरी होला ? त्यही दृश्य देखेर बीपी आफैँ हुनुहुन्थ्यो भने सायद मुस्कुराउनु हुन्थ्यो कि दुःखी हुनुहुन्थ्यो ? पक्कै दुःखित नभई बस्दैन होला !!आपसमा कच–कच र आरोप–प्रत्यारोपमै समय बिताइरहँदा बीपीले देखेको समृद्ध नेपाल र जनताले चाहेको विकासतर्फ ध्यान कहिले जाने होला ?
धन्य बीपी! आजको यो अवस्था आफ्नै आँखाले देख्नु पर्ने पीडा तपाईंले भोग्नु परेन ।
यदि आज तपाईं बोल्न सक्ने अवस्थामा हुनुहुन्थ्यो भने, सायद नेपाली कांग्रेस भनाउने सबैलाई धेरै प्रश्न गर्दै आफ्नै आदर्श र बाटोमा फर्किन सम्झाउनु हुन्थ्यो होला ।
यसै कारण बीपी स्मृति तथा मेलमिलाप दिवसको अवसरमा मन अलि भावुक बनेको छ ।
बीपीप्रति हार्दिक श्रद्धाञ्जली । उहाँको सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ— ‘राम्रो होइन, असल बनौँ ।’