काठमाडौं, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ मा कुल पाँच अर्ब ७८ करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार यस अवधिमा भदौ महिनाको अन्तिम सातातिर भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएका हुलदंगा, तोडफोड तथा आगजनीबाट राष्ट्रका पूर्वाधार, उद्योग, व्यापार तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिको बीमा दाबीबापत मात्रै तीन अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
कम्पनीले जेनजी आन्दोलनसँग सम्बन्धित दाबीबाहेक अन्य विभिन्न कारणबाट उत्पन्न बीमा दाबीबापत पनि दुई अर्ब ४८ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरेको जानकारी दिएको छ । आर्थिक वर्ष २०८२/०८३ मा कम्पनीमा कुल १७ हजार छ सय ६४ वटा दाबी दर्ता भएकोमा १७ हजार आठ सय ७६ वटा दाबी फछर्योट गरिएको कम्पनीको भनाइ छ । फछ्र्योट गरिएका दाबीको संख्या सोही अवधिमा दर्ता भएका दाबीभन्दा बढी हुनुबाट अघिल्ला वर्षदेखि बाँकी रहेका दाबीसमेत टुंग्याइएको देखिन्छ ।
कम्पनीले दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै संवेदनशील र जिम्मेवार ढंगले सेवा प्रदान गरिरहेको दाबी गरेको छ । दाबी फछ्र्योटसम्बन्धी तथ्यांकले पनि बीमितप्रति कम्पनीको प्रतिबद्धता झल्किने कम्पनीको भनाइ छ । साथै, राष्ट्रभर उद्योग, व्यापार तथा निजी सम्पत्तिमा पुगेको क्षतिअन्तर्गत आफूकहाँ बीमित सम्पत्तिको क्षतिपूर्ति यथाशीघ्र उपलब्ध गराइ बीमितको हित संरक्षण गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । भुक्तानी हुन बाँकी दाबीकर्तालाई आवश्यक कागजात छिटो उपलब्ध गराई दाबी फछ्र्योट प्रक्रियामा सहयोग गर्न कम्पनीले आग्रह गरेको छ ।