काठमाडौ, पाँचतारे होटल याक एण्ड यतीले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको होटलले जनाएको छ ।
होटलका निर्देशक अरुण कुमार सर्राफ, उनकी आमा रत्ना देवी सर्राफ र भाइ उमेश सर्राफसहितको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेको हो । होटल व्यवसायी अरुण कुमार सर्राफ होटल याक एण्ड यतीका साथै तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी, काठमाडौं)का समेत सञ्चालक हुन् । उनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोगले केही योगदान पुग्ने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।