काठमाडौं, लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काइवेल’लाई एलआरआर मोटर्सले नेपालमा सार्वजनिक गरेको छ । एलआरआरले नेपाल ल्याएको स्काइवेलका बीई ११ मोडल नाडा अटो शो २०२६ को अवसरमा औपचारिक रुपमा लन्च गरिएको हो ।
स्काइवेलका प्रतिनिधिले मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२६ को अवसर पारेर नेपालमा बीई ११ का दुई भेरियन्ट लन्च गरेका हुन् । जसअनुसार ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४९ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५५ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५६ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ६४ लाख ९९ हजार तोकिएको छ । नाडा अटो शो अवधिभरीका लागि कम्पनीले विशेष अफर पनि ल्याएको छ । जसअन्तर्गत नाडा अटो शो अवधिभरको लागि ४१० किमी रेन्ज दिने इन्ट्री गाडीको मूल्य ४६ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने कम्फर्ट गाडीको मूल्य ५३ लाख ९९ हजार, ४१० किमी रेन्ज दिने लक्जरी गाडीको मूल्य ५४ लाख ९९ हजार र ५२० किमी रेन्ज दिने गाडीको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ ।
यसअघि सोमबार एलआरआर मोटर्सले स्काइवेलको लोगो अनावरण गरेको थियो । कम्पनीका अनुसार ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याकमा आएको बीई११ ले एक पटकको पूर्ण चार्जमा ५२० किलोमिटर रेन्ज दिनेछ । साथै, ५१.९१ किलोवाटको एलएफपी ब्याट्री अप्सनमा आएको बीई११ ले एक पटकको चार्जमा ४१० किलोमिटर रेन्ज दिनेछ । यो ईभी डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दुवै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ । यसमा ८०० भी हाई–भोल्टेज आर्किटेक्चर रहेको छ, जसले फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।