काठमाडौं, काठमाडौं महानगरपालिकाले करिब ८ करोड ९५ लाख रुपैयाँ लागतमा महांकाल मन्दिर परिसरको चौघेरा सत्तल पुनर्निर्माण गरेको छ ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सत्तलको पुनर्निर्माण गर्न २०८१ मंसिर २४ गते शिलान्यास गरिएको थियो । पुनर्निर्माणमा ८ करोड ९४ लाख ४६ हजार १७० रुपैयाँ खर्च भएको महानगरले जनाएको छ । निर्माण सम्पन्न भएको सत्तलको बिहीबार काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् । कार्यक्रममा उनले महानगरले प्राचीन सम्पदालाई संरक्षण गर्न महानगर प्रतिबद्ध रहेको बताइन् ।
साथै, उनले प्राचीन सम्पदालाई व्यावसायिक प्रयोग गर्न दिन नहुनेमा जोड दिइन् । उनले पुनर्निर्मित संरचनाको संरक्षणमा गुठी, स्थानीय समुदाय, सरकारी निकाय र श्रद्धालु सबैको समान अपनत्व आवश्यक रहेको उल्लेख गर्दै उपयोग योजनामा स्पष्टता आएपछि संरचना गुठी संस्थानलाई हस्तान्तरण गर्न महानगर तयार रहेको बताइन् ।
महानगरका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले महानगरले अन्य निकायको जिम्मेवारीमा रहेका सम्पदाको समेत पुनर्निर्माण र संरक्षणमा लगानी गरिरहेको बताए । उनले सम्पदा संरक्षणमा सम्बन्धित निकायबीच समन्वय अभावले काम प्रभावित हुने गरेको उल्लेख गर्दै ऐतिहासिक सम्पदा जीर्ण अवस्थामा छाड्न नहुने बताए । वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले स्थानीय समुदाय र सरोकारवालाबीच सहकार्यका कारण महांकाल सत्तल पुनर्निर्माण सफल भएको बताए ।