काठमाडौं, फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा टीएम१ विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले विद्युतीय सवारीसाधन विस्तार गर्ने उद्देश्यसहित उक्त सवारीसाधन हस्तान्तरण गरेको हो ।
कम्पनीका अनुसार फोटोन टीएम१ विद्युतीय सवारीसाधन वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र भरपर्दो कार्यक्षमताका कारण व्यावसायिक ढुवानीका लागि उपयोगी विकल्प बन्नेछ । एम ए डब्लु वृद्धि कमर्सियल भेइकल्स् प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले भने, ‘नेपाली व्यवसायको आवश्यकतालाई ध्यानमा राख्दै विश्वसनीय र आधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो ।’
भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकतामा राखेको बताए । उनले फोटोन मोटर्ससँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस्ता पहलले नेपालका अन्य व्यवसायलाई पनि विद्युतीय सवारीसाधनको प्रयोग गर्न प्रोत्साहित गर्ने बताए । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा व्यावसायिक ढुवानी क्षेत्रमा पनि यसको सम्भावना विस्तार हुँदै गएको छ । सञ्चालन खर्च न्यूनीकरण र वातावरणीय प्रभाव कम गर्न विद्युतीय व्यावसायिक सवारीसाधन प्रभावकारी विकल्प बन्दै गएका छन् ।