वासिङटन, अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर अझै एक–दुई लक्ष्य ‘सम्हाल्न’ बाँकी रहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बताएका छन् । तेहरानले आक्रमण भएमा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँगको वार्ता ‘सहज रूपमा नै चलिरहेको’ तर उनीहरू ‘धेरै भरपर्दो नभएको’ बताएका हुन् । रिपब्लिकन राष्ट्रपतिले अमेरिका आक्रामक कारबाही गर्न हतारमा नरहेको बताए ।
ट्रम्पले आफ्नो फ्लोरिडा निवासमा पत्रकारसँग भने, ‘अमेरिकाले इरानको सैन्य र आणविक कार्यक्रमलाई पहिले नै ठूलो क्षति पुर्याइसकेको छ । हामीले उनीहरूको आणविक क्षमता नष्ट गरिसकेका छौँ। अझै एक–दुई ठाउँ बाँकी छन् तर हामी त्यो १० मिनेटमै सम्हाल्न सक्छौँ । तपाईंले पिक्याक्स माउन्टेनलाई हेर्न सक्नुहुन्छ, त्यसलाई पनि सम्हाल्नुपर्छ। हामी यो सबै धेरै छिटो गर्न सक्छौँ ।’
पिक्याक्स माउन्टेन एक संदिग्ध भूमिगत आणविक परिसर रहेको विश्वास गरिन्छ । इरानी सरकारले त्यहाँ कुनै आणविक कार्य नभएको अस्वीकार गरेको छ । शनिबार नै अमेरिकी विदेश मन्त्री मार्को रुबियोले ट्रम्पले इरानमा नयाँ आक्रमण गर्ने निर्णय अझै नगरेको र अमेरिका कूटनीतिक समाधानका लागि खुला रहेको बताएका थिए ।
इरानका सर्वोच्च नेताले शनिबार अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिएका थिए । दुवै देशमा महत्वपूर्ण चुनावपछि आक्रमण फेरि सुरु हुन सक्ने धम्की आएको थियो । ट्रम्पले यसअघि यस साताको अमेरिकी मध्यकालीन चुनावपछि आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानी सरकारलाई ढाल्ने ‘एक पटकको ऐतिहासिक अवसर’ को कुरा गरेका थिए ।
दुवै देशको चुनावले द्वन्द्वको दिशा निर्धारण गर्न सक्छ । इजरायलमा मङ्गलबार आम चुनाव भइसकेको छ तर नयाँ सरकार गठन हुन बाँकी छ । ‘कुनै पनि स्तर वा प्रकारको चेतावनीलाई तत्काल, प्रभावकारी र भौगोलिक सीमाविहीन जवाफ दिनुपर्छ’, इरानका सर्वोच्च नेता मोज्ताबा खामेनीले शनिबार उच्च सैन्य कमाण्डरहरूलाई दिएको वक्तव्यमा भनेका थिए ।
खामेनीले कमाण्डरहरूलाई इरानको लक्ष्य सूची अद्यावधिक गर्न आदेश दिएका थिए । यसमा ‘अमेरिकी र इजरायली यहुदी शत्रुका सबै प्रकारका मूर्त र अमूर्त सम्पत्ति’ समावेश गर्नुपर्ने उल्लेख छ । यो खामेनी र सैन्य उच्च अधिकारीहरूबीचको पहिलो रिपोर्ट भएको बैठक हो । सर्वोच्च नेता मार्चमा आफ्ना पिता आयतुल्लाह अली खामेनी अमेरिका–इजरायल आक्रमणमा मारिएपछि जिम्मेवारी सम्हालेदेखि सार्वजनिक रूपमा देखिएका छैनन् ।
‘हामी चाहेको खण्डमा सबै इरानी सैन्य लक्ष्य हासिल गर्न सक्छौँ तर राष्ट्रपति ट्रम्पले नयाँ आक्रमणबारे निर्णय गरिसक्नुभएको छैन’, विदेशमन्त्री रुबियोले भने । युद्ध सुरु भएदेखि तेहरानले हर्मुज जलमार्गबाट हुने जहाज आवागमनमा प्रतिबन्ध लगाएको छ । युद्ध सुरू हुनुपहिले यो मार्गबाट सामान्यतया विश्वभर आपूर्ति हुने इन्धनको करिब पाँच भागको एक भाग इन्धन ढुवानी हुने गरेको थियो ।
इरानले यसअघि हर्मुज जलमार्गमा रहेका समुद्री केबलहरू काट्ने विचार पनि गर्न सक्ने चेतावनी दिएको थियो । यस नाकाबन्दीले विश्व ऊर्जा मूल्यमा उछाल ल्याएको छ जसले आगामी चुनावअघि अमेरिकी जनतामा युद्धलाई अलोकप्रिय बनाएको छ । विपक्षी डेमोक््रयाट्हरूले लाभ उठाएमा ट्रम्पको नीति कार्यान्वयन क्षमता केही हदसम्म सीमित हुन सक्छ । इजरायलको मतदानले नेतन्याहूको राजनीतिक समूहलाई संसदमा सबैभन्दा बढी सिट दिलाएको छ तर बहुमत पुगेको छैन । त्यसैले इजरायलमा अर्को प्रशासनको संरचना अस्पष्ट छ ।
युद्ध फेरि सुरु हुन नदिन नयाँ कूटनीतिक प्रयास भइरहेका छन् । कतारका मध्यस्थकर्ताहरू शुक्रबार तेहरान पुगेका छन् भने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईलाई नयाँ प्रस्तावसहित पत्र पठाएका छन् । ‘मैले पत्र पढेँ’, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रेजाईले इरानी टेलिभिजनमा प्रसारित भिडियोमा भने ।
रेजाईले इरानले कुल सम्पत्ति फुकुवा समेत आफ्ना शर्तहरू पूरा नभएसम्म हर्मुज जलमार्गमा नाकाबन्दी जारी राख्ने बताए । कतार र पाकिस्तान युद्धरत पक्षहरूबीच मध्यस्थता गरिरहेका छन् तर वार्ताले अहिलेसम्म दिगो सम्झौता दिन सकेको छैन । इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले कुनै पनि शत्रुता पुनः सुरु भएमा युद्धको दायरा मात्र फैलिने बताएका छन् ।
‘युद्धको आगो निःसन्देह धेरै फराकिलो भौगोलिक क्षेत्रमा फैलिनेछ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्। ‘अब कुनै ‘सिमारेखा’ रहनेछैन ।’ रासस/एएफपी