काठमाडौं, आगामी मंसिरमा ११औँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२६ आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंसिर १७ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो ।
महासंघले आइतबार पत्रकार सम्मेलन गरी मेलाको बारेमा जानकारी दिएको हो । मेला समिति सभापति सविन श्रेष्ठले मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानका व्यवसायी तथा प्रदर्शकहरूले सहभागिता जनाउने जानकारी दिए । उनका अनुसार मेलामा २०० भन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु र सेवाको प्रदर्शनी गरिनेछ । मेलामा नेपाल व्यापार एकीकरण रणनीतिअन्तर्गत प्राथमिकतामा परेका अलैँची, चिया, अदुवा, औषधीय तथा सुगन्धित जडीबुटी, हस्तकला, पश्मिना, गलैँचा, कफी, नेपाली कागज, तयारी पोसाकलगायत निर्यातयोग्य वस्तुलाई विशेष प्राथमिकता दिन लागिएको उनले जानकारी दिए ।
महासंघले मेलामार्फत नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, निर्यात प्रवर्द्धन तथा विदेशी लगानी र प्रविधि भित्र्याउने लक्ष्य राखेको छ । यसका लागि सार्क राष्ट्रसहित चीन, कोरिया र जापानलगायत देशका सम्भावित खरिदकर्तालाई आमन्त्रण गरिएको छ । मेलाको मुख्य आकर्षणका रूपमा मेड इन नेपाल पेभेलियन, हस्तकला उत्पादन तथा वस्तुगत संघका छुट्टाछुट्टै पेभेलियन रहनेछन् । साथै, विद्युतीय सवारीसाधनका लागि समेत छुट्टै प्रदर्शनी क्षेत्र राखिने महासंघले जनाएको छ । हस्तकला, पर्यटन, सूचना प्रविधि, कृषि, ऊर्जा, भवन तथा निर्माण सामग्री र शिक्षासम्बन्धी प्रदर्शनी पनि मेलामा समेटिनेछन् ।
मेलाका क्रममा नेपाली तथा विदेशी व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक भेटघाट, अन्तरक्रिया र व्यापारिक सहकार्यका अवसर सिर्जना गरिने महासंघले जनाएको छ । विशेषगरी नेपाली र चिनियाँ व्यवसायीबीच प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम तय भइसकेको महासंघको भनाई छ । मेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा आयोजनामा हुन लागेको हो । मेलामा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ सहआयोजक रहेका छन् । महासंघले यस वर्षको मेलामा स्वदेशी तथा विदेशी गरी करिब एक लाख अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ ।
यसैबीच, देशका विभिन्न प्रदेश, जिल्ला तथा वस्तुगत संघबाट आयोजना गरिएका मेलामा उत्कृष्ट ठहरिएका स्टल तथा उत्पादनलाई नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा निःशुल्क स्टल उपलब्ध गराइने महासंघले जनाएको छ । महासंघका अनुसार मेलाको नियमित आयोजनाले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न, विदेशी लगानी तथा प्रविधि आकर्षित गर्न र नेपालको समग्र व्यापार तथा आर्थिक गतिविधि विस्तार गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।