विराटनगर, तिहार सुरु हुन एक साता बाँकी छँदै कोशी प्रदेशको राजधानीसँगै जोडिएको भारतीय सीमावर्ती नाकाबाट भारतीय सयपत्री फूलको अवैध तस्करी तीव्र बन्न थालेको छ ।
सरकारले स्वदेशी किसानको संरक्षणका लागि भारतीय सयपत्री आयातमा रोक लगाए पनि तस्कर समूहले नयाँ शैली अपनाउँदै सीमापारिबाट फूल नेपाल भित्र्याएर शीतभण्डारमा लुकाउने धन्दा गर्नेगरेको खुलेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले विराटनगरबाट अवैध रुपमा भित्रिएको करिब २५ लाख रुपैयाँ मूल्यबराबरको सयपत्री फूल बरामद गरेपछि यो सङ्गठित जालोको रहस्य बाहिर आएको हो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले भन्सार तथा बिलबिजकविना भारतबाट अवैधरूपमा उक्त फूल भित्र्याइएको बताए । उक्त फूल विराटनगरस्थित ‘ग्लोबल कोल्ड स्टोर’ र ‘राधाकृष्ण कोल्ड स्टोर’मा भण्डारण गर्न लैजाँदै गर्दा नियन्त्रणमा लिएको उनले जानकारी दिए । तिहारका बेला फूलको अत्यधिक माग हुने भएकाले भारतबाट अवैध रूपमा सयपत्री फूल ल्याएर शीतभण्डारमा राखी पछि बेच्ने व्यपारीहरुको सेटिङ थियो । सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएकाले बरामद गरिएका सम्पूर्ण फूल कानुनबमोजिम नष्ट गर्ने तयारी ससस्त्रले गरेको छ ।
सशस्त्रले अनुसन्धानका क्रममा तस्कर समूहले सीमावर्ती खुला नाकाको फाइदा उठाउँदै विराटनगरसँगैको जोगबनी बजार र सुनसरीका विभिन्न नाकाबाट साना सवारी तथा ई–रिक्साको प्रयोग गरेर फूल नेपाल छिराउने गरेको पाएको जनाएको छ । विराटनगरका केही तस्करहरूले अझै पनि क्यारिङमार्फत यो अवैध कारोबार सञ्चालन गरिरहेका छन् । यसरी तिहार सुरु हुनुभन्दा एक हप्ताअघि नै सस्तो मूल्यमा भारतबाट फूल ल्याउने र तिहारको मुख्य दिन महँगोमा बेच्ने तस्करहरूको योजना प्रहरीले विफल पारिदिएको छ । तिहारमा बेच्नका लागि ब्यापारीले स्थानीय कोल्ड स्टोरहरूसँग सम्झौता नै गरेर फूलका माला भण्डारण गर्ने गरेका थिए । कोल्ड स्टारेहरुसँग भाडाको मूल्य समेत तय गरी गरी सयपत्रीका मालाहरु राख्ने तयारी गरेको स्रोतको दाबी छ ।