काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित द ब्रिटिस कलेजले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी)बाट पुनः मान्यता प्राप्त गरेको छ ।
कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रुपमा मान्यता प्राप्त गरेको हो । कलेजद्वारा जारी विज्ञप्तिअनुसार बीएसीको मान्यता सन् २०३० मे ३१ सम्मका लागि मान्य रहनेछ । उक्त मान्यता प्राप्त गर्न बेलायतबाट आएका निरीक्षकहरूको टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सहयोग सेवा, शैक्षिक स्रोतसाधन, भौतिक पूर्वाधार, अनलाइन शिक्षण व्यवस्था, अतिरिक्त क्रियाकलाप तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत सम्पूर्ण पक्षको विस्तृत मूल्यांकन गरेको थियो । बिएसीको मान्यता शैक्षिक गुणस्तर, संस्थागत पारदर्शिता, सुशासन तथा उत्कृष्टताको अन्तर्राष्ट्रिय प्रतीकका रूपमा लिइन्छ । उक्त मान्यता प्राप्त गर्न संस्थाले सुशासन, रणनीति तथा वित्तीय व्यवस्थापन, शैक्षिक तथा प्रशासनिक व्यवस्थापन, शिक्षण तथा मूल्यांकन, विद्यार्थी सहयोग तथा मार्गदर्शन, भौतिक पूर्वाधार तथा सिकाइ स्रोतसाधन, र गुणस्तर व्यवस्थापन तथा सुधारलगायत छ प्रमुख क्षेत्रमा तोकिएका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ ।
द ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले उक्त मान्यताले कलेजको शैक्षिक प्रणाली, प्राध्यापक तथा कर्मचारीहरूको समर्पण र अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने प्रतिबद्धताको पुष्टि गरेको बताए ।