काठमाडौं । ग्लोकल प्रा. लि. र विश्वप्रसिद्ध शैक्षिक संस्था टाईम्स हाईहर एजुकेशन (द) बीच रणनीतिक सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सशक्त बनाउने उद्देश्यले उक्त सम्झौता गरेको हो । समझदारीपत्रमा ग्लोकलका अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रीय अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गरेका छन् । सहकार्यअन्तर्गत नेपालको उच्च शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रियकरण, प्रभाव मूल्यांकन, नीतिगत परामर्श तथा संस्थागत विकासका क्षेत्रमा संयुक्त रूपमा काम गरिने जनाएको छ । सहकार्यमार्फत नेपालका विश्वविद्यालय तथा सरकारी निकायलाई विश्वस्तरीय अभ्यास, तथ्यांकमा आधारित निर्णय प्रक्रिया, अन्तर्राष्ट्रिय ¥याङकिङ तथा संस्थागत रूपान्तरणका विषयमा सहयोग उपलब्ध गराइनेछ । साथै, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्ने ‘स्टडी इन नेपाल’ अभियानलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने सम्भावनाहरू पनि खोजिनेछन् ।
ग्लोकलका अध्यक्ष आशिष ठाकुरले नेपालको उच्च शिक्षा क्षेत्र रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहकार्य र विश्वस्तरीय ज्ञान आदानप्रदानमार्फत विश्वविद्यालयहरूको क्षमता अभिवृद्धि गर्न यो साझेदारी फलदायी हुने बताए । उनले नेपाललाई क्षेत्रीय शिक्षा तथा ज्ञान केन्द्रका रूपमा स्थापित गर्न सहकार्यले महत्वपूर्ण योगदान पुर्याउने बताए । टाइम्स हायर एजुकेसनकी एशिया–प्रशान्त क्षेत्रीय अध्यक्ष मेई मेई लिमले नेपाल उच्च शिक्षा विकासका लागि ठूलो सम्भावना बोकेको देश भएको उल्लेख गर्दै विश्वविद्यालय, सरकार तथा सरोकारवालाबीच सहकार्य विस्तार गर्न आफ्नो संस्था प्रतिबद्ध रहेको बताइन् ।