काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच अवकाश कोष व्यवस्थापन गर्नेसम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । बुधबार कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममार्फत सो समझदारी–पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी–पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र कर्मचारी सञ्चय कोषको तर्फबाट निमित्त प्रशासक श्री जीवन कुमार कट्वालले हस्ताक्षर गरेका हुन् ।
समझदारी–पत्रमा उल्लेख भए अनुसार अब उप्रान्त राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको सञ्चय कोषलगायतका अवकाश कोषहरूको व्यवस्थापन कर्मचारी सञ्चय कोषले गर्नेछ । हाल राष्ट्रिय वाणिज्य बैंकमा दुई हजार नौ सय पचपन्न कर्मचारी कार्यरत छन् ।
विसं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी तीन सय १६ शाखा कार्यालयहरूमार्फत ४८ लाख भन्दा बढी ग्राहकलाई कर्जा, निक्षेपसहित एटीएम, मोबाइल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरू उपलब्ध गराइरहेको छ ।