काठमाडौं । एनआईसी एसिया क्यापिटलले पहिलो पटक विदेशमा बसोबास गर्ने नेपालीलाई लक्षित गर्दै कतारको दोहामा वित्तीय तथा लगानी साक्षरता सम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत आयोजित उक्त कार्यक्रम वैदेशिक रोजगारीमा रहेका नेपालीमा वित्तीय तथा पुँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ ।
क्यापिटलले खाडी मुलुकमध्ये करिब साढे तीन लाख नेपाली कार्यरत रहेको कतारलाई लक्षित गर्दै ‘विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं’ भन्ने नारासहित गत असार २६ गते दोहामा कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रम वे टु सक्सेस इभेन्ट एन्ड टे«निङ प्रोग्रामका सञ्चालकहरूसँगको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरूले डिजिटल खाता सञ्चालन, एसआईपी, आईपीओ, सेयर तथा डिम्याट र मेरो सेयर खाता सञ्चालन, नेपालमा सम्पत्ति व्यवस्थापन, ग्लोबल नेपालीलाई लक्षित सेवा तथा नेपालमा उपलब्ध लगानीका विविध अवसरका विषयमा प्रस्तुति दिएका थिए ।
त्यसैगरी प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने प्रक्रिया, आवेदन गर्दा अपनाउनुपर्ने सावधानी, सामूहिक लगानी कोषका इकाइ तथा एसआईपी खरिदका विषय, दोस्रो बजारमा धितोपत्र कारोबार गर्दा ध्यान दिनुपर्ने पक्ष, नेपालमा लगानी गर्ने कानुनी प्रक्रिया तथा विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट नेपाल पठाउने उपायबारे समेत विस्तृत जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी नेपालीसँग अन्तरक्रिया गर्दै उनीहरूका जिज्ञासाको समेत समाधान गरिएको क्यापिटलले जनाएको छ । कार्यक्रममा कतारमा वैदेशिक रोजगारी तथा व्यवसायमा संलग्न एक सय ४० भन्दा बढी नेपालीको सक्रिय सहभागिता रहेको थियो ।
एनआईसी एसिया क्यापिटलले आगामी दिनमा पनि विदेशमा रहेका नेपालीलाई लक्षित गरी वित्तीय साक्षरता विस्तार, पुँजी बजारप्रतिको पहुँच बढाउने तथा नेपालमा लगानीका अवसरबारे जानकारीमूलक कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने जनाएको छ ।