काठमाडौं । सुरेन्द्र भण्डारीले सहकारीको पैसा व्यक्तिगत घर जग्गा र व्यवसायमा लगानी गरी समस्याग्रस्त बनाएको ललितपुरको पुल्चोकमा रहेका श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नाममा रहेको जग्गा लिलाम बिक्री हुने भएको छ ।
संस्थाको अर्बो हिनामिनामा गरेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत भण्डारीकै कारण सहकारीमा समस्या आएको भन्दै बचत फिर्ताको मागसहित विभिन्न निकायमा उजुरी परेपछि सरकारले २०८० साल फागुन २९ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेर संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापनका लागि सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसमक्ष पठाएको थियो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार ३५ दिने गोप्य सिलबन्दी बोलपत्र आह्वान सूचना प्रकाशित गर्दै संस्था, संस्थाका ऋणी सदस्य तथा सञ्चालकहरूबाट बुझाउनुपर्ने साँवा, ब्याज, हर्जाना र जरिवाना तिर्न सहकारी नियमावली, २०७५ बमोजिम सूचना प्रकाशित गर्दा समेत दायित्व फरफारक नगरेकाले लिलामी प्रक्रिया अगाडि बढाइएको बताएको छ ।
समितिले निकालेको सूचनामा ललितपुर जिल्लाको साविक हरिसिद्धि गाविस वडा नम्बर ५ख मा अवस्थित कित्ता नम्बर ३९९ को चौध आना तीन पैसा जग्गा लिलाम गर्ने उल्लेख गरेको छ । यस जग्गाको न्यूनतम मूल्य प्रतिआना चार लाख रुपैयाँ कायम गरिएको छ भने जम्मा न्यूनतम मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ । सहकारी नियमावली, २०७५ को नियम ३० को उपनियम १ को खण्ड (च) बमोजिम चलनरहेको मूल्य कायम गरी यो न्यूनतम मूल्य निर्धारण गरिएको समितिले जनाएको छ ।
सूचनामा जग्गा खरिद गर्न इच्छुक व्यक्ति, संस्था वा बचतकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्ने उल्लेख छ । यो आह्वान सहकारी ऐन, २०७४ को दफा १०६ को उपनियम (ज) को अधीनमा रही गरिएको, तोकिएको न्यूनतम मूल्यभन्दा नघट्ने गरी बोलपत्र पेस गर्न र लिलामीसम्बन्धी सर्तहरू तथा अन्य विस्तृत जानकारीका लागि इच्छुक पक्षले व्यवस्थापन समितिको कार्यालयको आधिकारिक वेबसाइट बाट हेर्न सक्ने बताइएको छ ।