काठमाडौं । अमेरिकाको न्युयोर्कमा ‘नेपाली अमेरिकन बिजनेस एन्ड इन्भेष्टमेन्ट समिट (नबिस) २०२६’ आयोजना हुने भएको छ ।
नेपाल र अमेरिकाबीच व्यापार, लगानी र आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले आगामी सेप्टेम्बर २५ देखि २७ सम्म समिट हुन लागेको हो । ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको सहयोगमा कार्यक्रम आयोजना गरिने जनाएको छ । सम्मेलनको नारा ‘कनेक्टिङ क्यापिटल, आईडिया एन्ड अपरच्युनिटी’ राखिएको छ । आयोजकका अनुसार सम्मेलनमा नेपाल र अमेरिकाका सरकारी प्रतिनिधि, व्यवसायी, लगानीकर्ता, उद्यमी, नीतिनिर्माता तथा विश्वभर रहेका नेपाली मूलका व्यवसायीको सहभागिता रहनेछ ।
सम्मेलनमार्फत द्विपक्षीय व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि सहकार्य र दीर्घकालीन आर्थिक साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।
ग्रेटर न्युयोर्क नेपाली चेम्बरका अध्यक्ष प्रदीप श्रेष्ठले सम्मेलन नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ चरणमा पुर्याउने साझा मञ्च हुने दाबी गरे । उनका अनुसार अमेरिकामा रहेका नेपाली मूलका व्यवसायी, लगानीकर्ता र प्रविधि विज्ञको ज्ञान, अनुभव तथा पुँजीलाई नेपालको आर्थिक विकाससँग जोड्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि, पूर्वाधार, उत्पादनमूलक उद्योग तथा स्टार्टअप क्षेत्रमा लगानी सम्भावनाबारे छलफल हुनेछ । साथै अन्तर्राष्ट्रिय व्यापार, पुँजी साझेदारी, कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित नवप्रवर्तन तथा स्थानीय व्यवसायलाई विश्व बजारसँग जोड्ने विषय पनि एजेन्डामा रहनेछ ।
कार्यक्रमअन्तर्गत सरकार–निजी क्षेत्र संवाद, स्टार्टअप शोकेस, उत्पादन सार्वजनिक, लगानीकर्ता नेटवर्किङ, व्यवसाय–व्यवसाय (बीटुबी) तथा व्यवसाय–सरकार (बीटुजी) भेटघाट, रणनीतिक साझेदारी बैठक र सम्मान कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार सम्मेलन संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सप्ताह र ‘क्लाइमेट विक एनवाइसी’को अवधिमा न्युयोर्कमा हुने भएकाले अन्तर्राष्ट्रिय नीतिनिर्माता, लगानीकर्ता र व्यावसायिक नेतृत्वसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसरसमेत उपलब्ध हुनेछ ।