दोलखा, पछिल्लो दुई महिना साउन र भदौमा प्राकृतिक विपद्का घटनामा परी दोलखाका ६४ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाबाट प्राप्त विवरणअनुसार सबैभन्दा बढी गौरीशंकर गाउँपालिकाका ११ जनाले ज्यान गुमाएका छन् ।
गौरीशंकरका आठ जनाको रसुवाको भोटेकोसीमा आएको बाढीमा परी मृत्यु भएको छ भने दुई जनाको हिमपहिरो र एक जनाको स्थानीय टासिनाम पहिरोमा परी मृत्यु भएको हो । त्यसैगरी भीमेश्वर नगरपालिकाका १० जनाको रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु भएको छ । बाढीमा बेपत्ता भएको झन्डै दुई महिना बितिसक्दा समेत उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेपछि परिवारले अन्तिम संस्कारसमेत गरिसकेका छन् । बाढीमा परी कालिञ्चोक गाउँपालिकाका आठ, जिरी नगरपालिकाका आठ र वैतेश्वर गाउँपालिकाका सात जनाले ज्यान गुमाएका छन् । त्यस्तै मेलुङ गाउँपालिकाका छ, शैलुङ गाउँपालिकाका पाँच तथा बिगु र तामाकोशी गाउँपालिकाका चार÷चार जनाको पनि रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु भएको छ ।
भदौ १० गते बिहान रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा परी दोलखाका ६१ जना बेपत्ता भएका थिए । लामो समयसम्म खोजी तथा उद्धारको प्रयास जारी रहे पनि बेपत्ता भएकामध्ये धेरैको अवस्था अझै अज्ञात रहेको छ । यसै अवधिमा गौरीशंकर गाउँपालिकाका किलि पेम्बा शेर्पाको साउन १४ गते पाकिस्तानको व्रोडपिक हिमपहिरोमा परेरर मृत्यु भएको थियो भने पदम तामाङको यलुङ हिमपहिरोमा परी मृत्यु भएको थियो । त्यस्तै चस्मान तामाङ स्थानीय टासिनाम पहिरोमा परी बेपत्ता भएका थिए ।
प्राकृतिक विपद्का यी घटनाले पछिल्लो समय दोलखासहित हिमाली तथा पहाडी जिल्लामा विपद् जोखिम र मानवीय क्षतिको अवस्था गम्भीर रहेको देखाएको छ । बाढी, पहिरो र हिमपहिरोजस्ता घटनाका कारण परिवारले आफ्ना आफन्त गुमाउनुका साथै लामो समयसम्म बेपत्ताको अवस्थासमेत सामना गर्नुपरेको छ ।