काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिफारिस गरेको छ।खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै सीआईबीले बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो।
सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरिएको छ।सीआईबीले अनुसन्धानका क्रममा एन्फामा ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ।यसअघि सीआईबीले गत २ असोजमा एन्फाको मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेपछि एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राई भने सम्पर्कविहीन रहेको जनाइएको छ।
एन्फामा राष्ट्रिय हित र प्रतिष्ठाविपरीत हुने गरी होम गेम बिक्री गरेको, राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन अवज्ञा गरेको तथा अवैध रूपमा भत्ता वितरण गरेको लगायतका विषयमा उजुरी परेको थियो।त्यस्तै, महिला साफ खेलका क्रममा होटलको दररेटमा कमिसन तथा भ्रष्टाचार गरेको, स्वीकृतिबिनै वैदेशिक भ्रमण गरेको, अनुदान रकम दुरुपयोग गरेको र अनावश्यक नियुक्ति गरेको आरोपसमेत लगाइएको थियो।
विभिन्न समयमा भएका टेन्डर प्रचलित कानुनबमोजिम नगरेको तथा प्रतियोगितामा मार्केटिङ, डिजिटल, बोर्डकास्टिङ र टिकटिङ राइट्स प्रदान गर्दा अनियमितता र भ्रष्टाचार गरेको आरोपमा समेत छानबिनको माग गरिएको थियो।यिनै उजुरीका आधारमा एन्फाभित्र भएको भनिएको अनियमितता, भ्रष्टाचार र पदको दुरुपयोगबारे सीआईबीले अनुसन्धान अघि बढाएको थियो। यसैबीच, तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) गत २४ जुनदेखि एन्फालाई निलम्बनमा राखेको छ।