काठमाडौं, कामना सेवा विकास बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघबीच सातै प्रदेशका साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र महासंघका तर्फबाट महानिर्देशक डा. गोपाल तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यलगायत महासंघका पदाधिकारी तथा परिषद् सदस्यहरूको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले सम्झौतापछि सातै प्रदेशमा व्यवसायीको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने बताए । क्रमिक रूपमा अन्य क्षेत्रमा समेत यस्ता कार्यक्रम विस्तार गरिने जानकारी दिँदै उनले यसबाट उद्योगी तथा व्यवसायीको वित्तीय ज्ञान बढ्नुका साथै वित्तीय अनुपालनासम्बन्धी क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले सहकार्यका लागि कामना सेवा विकास बैंकलाई धन्यवादसमेत दिए ।
त्यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले उद्योगी तथा व्यवसायीलाई आफ्नो वित्तीय विवरण तयार गर्न तथा त्यससँग सम्बन्धित वित्तीय अनुपालना कायम गर्न सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिने बताए । सरोकारवालाको उपस्थितिमा सञ्चालन हुने तालिमका लागि आवश्यक प्राविधिक सहयोग बैंकले उपलब्ध गराउने उनको भनाइ थियो ।
सम्झौताले विशेषगरी साना तथा मझौला व्यवसायीलाई वित्तीय व्यवस्थापन, वित्तीय विवरण तयारी तथा वित्तीय अनुपालनाका विषयमा व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य लिएको छ । यसबाट व्यवसायीको वित्तीय क्षमता सुदृढ भई व्यवसाय सञ्चालन तथा विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैंकले ‘फ्युचर रेडी’ अवधारणाअनुरूप सुरक्षित, जिम्मेवार, प्रविधिमैत्री तथा दिगो बैंकिङ अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ । बैंकले दीर्घकालीन संस्थागत सुदृढीकरणसँगै व्यवसाय विस्तारमा जोड दिँदै आएको सन्दर्भमा महासंघसँगको पछिल्लो सहकार्यलाई व्यवसायीको वित्तीय क्षमता विकाससँग जोडिएको पहलका रूपमा लिइएको छ ।