काठमाडौं, मानव अधिकार, लैंगिक समानता तथा यौन तथा प्रजनन अधिकारको संरक्षण र प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) र राष्ट्रिय मानव अधिकार आयोगबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा पाँच वर्षको लागी नयाँ समझदारीपत्रमा हस्ताक्षर भएको हो । आयोगका सचिव मुरली प्रसाद खरेल र यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सन् २०२३ देखि जारी सहकार्यलाई निरन्तरता दिँदै आगामी पाँच वर्षका लागी समय थप गरिएको हो । लैंगिक समानता प्रवद्र्धन, यौन तथा प्रजनन अधिकारको संरक्षण तथा लैंगिक हिंसा र बालविवाहजस्ता हानिकारक अभ्यास न्यूनीकरणमा सहकार्य गर्ने जनाइएको छ ।
आयोगका सचिव खरेलले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताए । यूएनएफपीए नेपालका प्रतिनिधि हरिदासले सन् २०२३ मा सुरु भएको सहकार्यबाट लैंगिक समानता र प्रजनन अधिकारका क्षेत्रमा महत्वपूर्ण काम भएको बताए । आगामी अवधिमा अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रसँगको समन्वयमार्फत कार्यान्वयन तथा अनुगमनलाई प्रभावकारी बनाउने उनको भनाई छ ।