कर्णाली, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि आवश्यक सबै उपाय अवलम्बन गरिने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सुर्खेतमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको समग्र विकास र बजेट खर्च बढाउन कर्मचारी प्रशासनले द्रुतत्तर गतिमा काम गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्यालयले नै सन्तोषजनक प्रगति नगरे अन्यमा खास प्रगति नहुने भन्दै उनले पुँजीगत खर्च बढाउन सबै अवरोध हटाउनुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री शाहीले भने, “ऐननियम संशोधन गर्नुपर्नेछ भने गरौं, कर्मचारीलाई तालिमको आवश्यकता हो भने त्यो पनि दिऊँ तर काम समयमै सक्ने र विनियोजित रकम पारदर्शी र प्रभावकारी रुपमा खर्च गर्नेतर्फ ध्यान दिऊँ ।”
उनले स्थानीय तहसँगको सहकार्य र कर्मचारीको काममा गति बढाएर वित्तीय प्रगतिमा सुधार ल्याउनुपर्ने धारणा राखे । कार्यक्रममा प्रमुख सचिव राधिका अर्यालले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति सन्तोषजनक नभएको भन्दै यसपटक सुधारेर लैजानुपर्नेमा जोड दिए ।
प्रदेश सरकारको आव २०८२/८३ को वार्षिक प्रगति विवरणअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कुल रु. छ अर्ब नौ करोड ६२ लाख बजेट विनियोजन भएकामा असार मसान्तसम्म तीन अर्ब ३७ करोड १६ लाख खर्च भएको थियो । जुन कुल बजेटको ५५ दशमलव ३१ प्रतिशत बराबर हो ।